Sunday, February 28

नगरपालिकाले छाप्रोमा डोजर चलाएपछि नालीमा बास !

September 28, 2020 204

असोज १२, २०७७ काठमाडौं : सामाखुसी चोकछेउ व्यस्त सडकको छेउमा ढलको नाली बनाउने ह्युम पाइप राखिएको छ। नालीभित्र सडकमा अलपत्र छाडिएका कुकुर या पशुबस्तु पनि सितिमिति बस्दैनन्‌। ​तर, सडकलाई सहयोगापेक्षी (मगन्ते) मुक्त घोषणा गरेको सरकारले बसिरहेको छाप्रो भत्काएर मानिसलाई ढलको नालीभित्र बस्‍न बाध्य पारिदिएको छ। राजु सुनुवारले राज्यबाट यस्तै उपहार पाए। सुकुम्बासीका नाममा हुकुमबासी कार्यकर्ताहरूले देशभरका विभिन्न स्थानमा सरकारी र सामुदायिक वन फाँडेर जग्गा हडप्दैगर्दा राजुजस्ता वास्तविक शहरी सुकुम्बासीहरू यतिखेर नाली या खुला आकाशमुनि सुत्न बाध्य छन्‌। आइतबार बिहान ८ बजे थाहाकर्मी पुग्दा नाली बनाउन राखिएको त्यो पाइपभित्र कोही थिएनन्‌। भाडाकुँडाहरू बाहिर राखिएका थिए। राजु फोहोर टिप्न हिँडिसकेका रहेछन्। अहिले जहाँ नालीका लागि पाइप राखिएको छ, त्यसैको छेउमा झुपडी बनाएर राजु १५ वर्षदेखि बसिरहेका थिए। तर, राजुजस्तै दिनहीन र दुखियाहरूको नाम लिँदै यही १५ वर्षमा भएको भनिएको परिवर्तनका पहरेदारहरूले नै राजुको छाप्रो भत्काइदियो। टोखा नगरपालिकाले डेढ महिनाअघि छाप्रो भत्काइदिएपछि ४१ वर्षीय राजु नालीमा आइपुगेका हुन्‌। राजुसहित त्यहाँ बसिरहेका धेरै सुकुम्बासी र आवास विहीनको झुप्रो नगरपालिकाले भत्कायो। घर भत्काएर नपुगेर अरूले दिएका र कवाडी बेच्दै बल्लतल्ल जोडेका भाँडाकुँडा र लुगाफाटासमेत नगरपालिकाका कर्मचारीले लगे। ती सामान जोड्नु राजुहरूका लागि हीरा या सुन जोड्नुजस्तै हो। विकास गर्नुअघि सामाजिक प्रभाव मूल्यांकन गरिन्छ। तर, शहरी क्षेत्रका स्थानीय तहहरू मैमत्त छन्‌। यहाँका जनप्रतिनिधिहरू भुइँका मानिसको जीवनलाई उति महत्व दिँदैनन्। यी पनि मानिस हुन्‌ र विकास गर्दै गर्दा सडकका मानिसहरूलाई थप अलपत्र बनाउनु हुँदैन, व्यवस्थापन गर्नुपर्छ भन्ने बुझेर पनि त्यसो गर्दैनन्‌। प्रहरी खटायो, डोजरले छाप्रो भत्कायो, मानिसहरू रोइ-कराइ गरे दमन गर्‍यो…! ​सडकमै भेटिइन्‌ आमा लोककल्याणको दुहाई दिने सत्ताले राजुबाट सिकोस्‌ ! जो आफैँ अलपत्र पर्दा पनि सडकमा उस्तै सकस भोगिरहेको वृद्धालाई आमा बनाएर राखेका छन्‌। अहिले दुवै त्यही नालीमा सँगै बस्दै आएका छन्‌। राजु भन्छन, ‘अहिले मेरा कोही परिवार नभएपनि एक जना आमा पाएको छु, उहाँलाई आमा बनाएर राखेको छु। सँगै बसेको पाँच वर्ष भैसक्यो।’ उनले आमालाई भोकै राखेका छैनन्। मागेरै भएपनि सकेसम्म मीना लामाको पेट भरिदिएका छन्‌‌। मीना भन्छिन,‘आफैँले जन्माएको छोराभन्दा पनि उसले धेरै माया गरेको छ। म ६० वर्षको भैसकेँ। काम गर्न सक्दिनँ, तै पनि उनले पालिरहेको छ।’ सडकनजिकै रहेको शिव मन्दिरमा भक्तजनबाट सहयोग अपेक्षा गर्न जाने गरेकी उनलाई यतिखेर मन्दिर प्रवेशमा रोक लगाइएको छ। कोरोना महामारीका बेला मन्दिर गएकी उनलाई त्यहाँका पुजारी र पण्डितहरूले प्रहरी बोलाएरै लखेटे। भोक टार्न मन्दिर पुगेकी एक वृद्धा अपमान सहेर रुँदै सडकमै फर्किइन्‌ ​गरीबहरूको भनिएको शासनको चरित्र यो हदसम्म उदाङ्गो हुन्छ भन्ने कसरी सोच्‍ने र ? मीनाका आफन्त जनकपुरमा छन्‌, तर, उनी जान चाहन्‍नन्‌। सडकमा आउन बाध्य हुनुको कारण पनि छ। उनी सुनाउँछिन,‘सबै परिवार दिल्ली गएका थियौँ। श्रीमानले अर्को बिहे गरेपछि उनीहरूले मलाई पिटेर लखेटे। भागेर काठमाडौंसम्म आएँ। यसरी बस्दै आएको १३ वर्षभन्दा बढी भैसकेको छ।’ मीनाको आँखामा मोतियाविन्दु लागेकोले राम्रोसँग देख्न सक्दिनन्‌। उपचारको लागि पैसा पनि छैन। त्यसो त चुपचाप बस्नुको विकल्प पनि छैन। किनकि, बसेको झुप्रो भत्काइदिने राज्यसँग के अपेक्षा बाँकी रह्यो र ! दुई चार रुपैयाँ दिने सहयोगीहरूबाट सडक मानवले त्यो भन्दा धेरै अपेक्षा पनि कसरी गर्नु ! पानी पर्दा घरको पेटीमा बास सडकमा भेटिएका यी आमाछोरा अहिले सडकमै राखिएको पाइपभित्र जीवन गुजार्दैछन्‌। तर, त्यो पनि पर्याप्त छैन। एउटा पाइपमा दुबैजना अट्दैनन्‌। राजुले आमालाई पाइपभित्र सुताउँछन्‌। आफू बाहिरै बोरा ओछ्याएर सुत्छन्‌।​माथि आकाशमा बादल ठोक्किएर जमिनतिर झर्ने पानी राजुलाई राज्यभन्दा पनि निर्दयी लाग्छ। पानी परेपछि यी आमाछोरा झन्‌ सकसमा पर्छन्‌। झरीमा रुझ्दै खाना खानुपर्छ। आमालाई नालीभित्र सुताएर बाहिर बोरामाथि पल्टेका राजु ओत खोज्दै हिँड्नुपर्ने हुन्छ। त्यसैले, राती पानी पर्दा छेवैमा बैंक शाखा रहेको भवनको तल पेटीमा गएर सुत्छन्‌।​पोखराका राजु पनि यसरी सडकमा आउनुका पछाडि कारण छ। उनी ती दिन खासै सम्झन चाहँदैनन्‌। थाहाखबरले जिज्ञासा राख्दा उनले बल्लतल्ल आफ्नो व्यथाको गाँठो फुकाए। १५ वर्षअघि श्रीमान-श्रीमती दुवै भोटेबहालमा कोठा लिएर बस्थे। ज्यामी काम गरेरै भएपनि जोइपोइको परिवार हाँकिरहेका थिए। तर, एकदिन उनी अर्कै केटासँग भागिछन्‌। कहिलै नफर्किने गरी श्रीमती भागेपछि राजु एक्लै भए। दाम्पत्य वियोगका कारण उनी कोठामै बसिरहन सकेनन्‌। सडकमै झरिदिए। लकडाउन अघिसम्म उनी ग्यारेजहरूमा गएर गाडीहरू धुने काम गर्थे। दिनको दुई सय रुपैयाँसम्म कमाउँथे। आमाछोराको गुजारा त्यसैले टर्थ्यो। गाडी नगुडेपछि अहिले त्यो काम पनि पाएका छैनन्। जीवन त धान्नै पर्‍यो। ग्यारेजको काम खोसिएपछि अहिले उनी प्रशोधनयोग्य फोहोर टिप्छन्‌‌। ‘अहिले बोत्तल टिप्ने काम गर्दै आएको छु,’ फोहोरका बोरा देखाउँदै राजुले भने, ‘सय/डेढसय रुपैयाँजति हात पर्छ, त्यही पैसाले आमा र मेरो भोक मेट्दै आएको छु।’ अहिले केही मनकारीहरूले बेला–बेला खाना दिने गरेका छन्‌। त्यही खानाले कोरोना संकटमा उनीहरूलाई केही राहत मिलेको छ। पहिले फोहोर टिपेको पैसा पनि उनले पाउन सकेका छैनन्‌। ‘१० हजार रुपैयाँजति लिनुछ। तर, ठेकेदारले दिँदैन। सरकारदेखि व्यापारीसम्मले पनि हामीजस्ता दुखीलाई नै ठगिरहेका छन्‌,’ उनी बिलौना गर्छन्‌। खरानी बनाइदिने धम्की ! राजुलाई देश संघीयतामा गइसकेको थाहा छ। अहिले केन्द्र, प्रदेश र स्थानीय तहका गरी तीन सरकार रहेको पनि जानकारी छ। तर राजुजस्ताहरूको यथोचित प्रबन्ध गर्ने विवेक कुनै सरकारसँग भएजस्तो लाग्दैन। किनकी, राजनीति र शानशौकातको जीवन कटाइरहेका ‘सरकारहरू’ का लागि राजुहरू विकासका अवरोधक हुन्‌। यी मानिसले सार्वजनिक जग्गा ‘कब्जा’ गरेर ओत लिने झुप्रो बनाउँछन्‌। राजुहरू यस्ता टालटुले झुप्रोमा बस्दा जनप्रतिनिधि र कर्मचारीहरूको निन्द्रा हराउँछ। टोखा नगरपालिकाले राजुको झुप्रो भत्कायो, लत्ताकपडा र भाँडाकुँडा लिएर गयो। त्यतिले नपुगेर डोजरसँगै आएका जनप्रतिनिधि र कर्मचारीहरूले भने, ‘यहाँ बसिराखिस्‌ भने झोपडीलाई भत्काएझैं तँलाई पनि खरानी बनाइदिन्छौं।’ गरीबको सरकारका प्रतिनिधिहरूले यस्तो बोल्न कसरी सकेका होलान्‌ ! राज्यले थोरै मात्र सहजीकरण गरिदिए राजुहरू पनि आम मानिसहरूजस्तै दु:खजिलो गरेर सामान्य जीवन बिताउन सक्छन्‌। सरकार आफ्नो दुस्मन बनेपछि राजु नै यसको विकल्प सुझाउन सक्छन्‌। उनी भन्छन्‌, ‘सरकारले कतै उपयोग नभएको सरकारी जग्गामा बस्‍ने ठाउँ बनाइदिए हामीले आश्रय लिन सक्थ्यौं।’ तर, मानिसलाई नै खरानी बनाउने धम्की दिने टोखा नगरपालिकाका अधिकारीहरूले यस्तो गर्ने अपेक्षा उनी राख्दैनन्। झुप्रो भत्काएर सामान लगिसक्दा पनि नगरपालिकाले राजुहरूलाई नालीभित्र पनि आनन्दले बस्न दिएको छैन। ‘नगरपालिकाले यहाँ पनि नबस्न भनिरहेको छ,’ भक्कानिँदै उनले भने, ‘बेलाबेला कारमा आउँछन्। अनि लुगासँगै पोलेर मलाई पनि खरानी बनाइदिने भन्छन्‌, खै अब कहाँ जाने हो? कारमा आउनेहरूले कुनै दिन आमा र मलाई जलाएर खरानी बनाउने त होलान्‌ नि !’ श्याम राई राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

प्रतिकृया दिनुहोस्