Saturday, February 27

चलचित्र ‘ए मेरो हजुर ४’ मा दुर्गेश थापाको गीतसँगै अभिनय पनि

September 28, 2020 228

काठमाडौं | नेपाली चलचित्र क्षेत्रमा सम्पूर्ण दर्शकहरुले एकदमै रुचाएका चर्चित नायक अनमोल केसी र चर्चित नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ मा चर्चित कलाकार दुर्गेश थापा अनुबन्धित भएका छन् ।

आइतबार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले उनीसँग गायक र कलाकारको रुपमा सम्झौता गरेका हुन् ।

यो चलचित्रमा दुर्गेशको अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता थापाले जानकारी दिए । तर, चलचित्रमा दुर्गेशले निर्वाह गर्न लागेको भूमिका भने खुलाइएको छैन।

कथाको माग अनुसार यो चलचित्रमा उनलाई अनुबन्ध गरेको निर्माता सुनिल कुमार थापाको भनाई छ । दुर्गेशले गाउने गीत केही दिनमा रेकर्डिङ हुनेछ । उनले ‘ए मेरो हजुर ४’ मा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन्।

उनले फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘म पनि ‘ए मेरो हजुर ४’ मा जोडिएको खबर सुनाउन पाउँदा निकै खुसी छु ।

यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाईप्रति आभारी छु ।’

दुर्गेशको विषयमा निर्माता थापाले भने–‘हामीलाई गीत पनि गाउने र अभिनय पनि गर्ने एक जना गायकको आवश्यकता थियो । दुर्गेशसँग केही समयदेखि कुरा भैरहेपनि आज सम्झौता भएको हो ।

चलचित्रमा पनि दुर्गेश आफ्नै परिचयमा देखिने छन् । चलचित्रमा एउटा गीत र केही दृश्यमा दुर्गेश देखिने छन् ।’

 

प्रतिकृया दिनुहोस्