साउन ९, २०७७ तनहुँ : अविरल वर्षापछि भाँसिएको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा सवारी प्रवेशमा रोक लगाइएको छ। राजमार्ग अन्तर्गत दमौली–डुम्रे सडक खण्डको सडक भाँसिएपछि सहज आवातजावात हुन नसेकपछि मर्मतका लागि सवारी प्रवेशमा रोक लगाइएको हो। डाइभर्सन राखी सञ्चालन गरिएको सडक पुनः अवरुद्ध भएपछि दुई दिनका लागि ठूला सवारी प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। अविरल वर्षापछि बन्दिपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि बनाइएको बैकल्पिक मार्गमा समेत सवारी साधन फसेर अवरुद्ध भएकाले दुई दिन प्रवेशमा रोक लगाइएको पौडेलले बताए। बैकल्पिक मार्गमा सवारी साधन फसेर पुनः राजमार्ग अवरुद्ध भएपछि ग्राभेल गर्ने कार्य भइरहेकाले सवारी रोक्नु परेको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। बरालका अनुसार साना सवारी साधानलाई भने शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म तीन घण्टाका लागि मात्रै प्रवेशमा रोक लगाइएको हो। दमौलीतर्फ आउने सवारीलाई आँबुखैरेनी र विपरीत दिशाबाट गएका सवारीलाई दमौली बजार क्षेत्रमा रोकिएको उनले बताए। ठूला सवारीलाई भने जुन बाटो आएको हो त्यही बाटो फर्काउने तयारी गरिएको छ। बैकल्पिक मार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयका इन्जिनियर, सुरक्षाकर्मीसहितको टोली उक्त स्थानमा पुगेर काम थालेको निमित्त प्रजिअ बरालले बताए। सडक अवरुद्ध हुँदा करिब ४०० वटा सवारी साधन रोकिएका छन्। गत साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समयपछि डाइभर्सनमार्फत् सञ्चालनमा आएको थियो। बैकल्पिक मार्गमा ग्राभेल नगरेका कारण हिलो हुँदा सवारी साधान फसेपछि राजमार्ग अवरुद्ध गरी मर्मतमा लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँमा बिहीबार साँझदेखि अविरल परेको वर्षाले पृथ्वी राजमार्गको अन्य क्षेत्रमा भने क्षति नपुगेको एसपी पौडेलले बताए। पछिल्लो समय पानी परिरहे पनि कुनै क्षति भने भएको छैन। राजमार्ग पूर्ण रुपमा खुलाउने तयारीमा जुटेको उनले बताए।
July 24, 2020 374
प्रतिकृया दिनुहोस्