Thursday, March 4

बुटवलबाट राजधानी सार्न लागेको भन्दै नेविसंघले गर्‍यो तोडफोड

October 2, 2020 198

असोज १६, २०७७ बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि बुटवलमा आन्दोलन सुरु भएको छ। प्रदेश सरकारको शुक्रबारको बैठकबाट उक्त प्रस्ताव संसदमा पेस भएलगत्तै कांग्रेसका कार्यकर्ताले सडकमा उत्रिएर विरोध जनाएका हुन्। नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन सुरु गरेको बताए। पार्टी सभापती अब्दुल रज्जाकद्वारा शुक्रबार जारी विज्ञप्तिमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरिएको छ। नेविसंघले प्रस्ताव पेस हुनासाथ तीन वटा गाडीमा तोडफोड गरेको छ। सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु१झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेको छ। त्यस्तै लु१झ ४४९ नं गाडी पनि तोडफोड गरेका छन्। साथै विभिन्न ठाउँमा टायर बालेर प्रदर्शनसमेत भइरहेका छन्। देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै अब पनि नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने षडयन्त्र भएको विरोधमा सडक र सदन तताउने विज्ञप्तिमा उल्लेख। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङको देउखुरीमा राजधानी राख्ने निर्णय भएपछि प्रदेश सरकारले प्रस्ताव अघि बढाएको हो।

प्रतिकृया दिनुहोस्