Tuesday, March 2

अनेरास्ववियूद्वारा पहिरो पीडित विद्यार्थीलाई अध्ययन र खेलकुद सामग्री वितरण

October 4, 2020 154

सिन्धुपाल्चोक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूले पहिरोका कारण विस्थापित भएका विद्यार्थीलाई अध्ययन तथा खेलकुद सामग्री वितरण गरेको छ ।

जिल्लाको घुम्थाङस्थित नागकुचेमा गत भदौ १८ गते गएको पहिरोका कारण विस्थापित भएका विद्यार्थीलाई अनेरास्वयियू नेतृ आरती लामाको नेतृत्वमा राजधानीबाट गएको टोलीले अध्ययन तथा खेलकुद सामग्री वितरण गरेको हो ।

पहिरोका कारण विद्यार्थीहरुको बालमस्तिष्कमा पर्न सक्ने असरलाई केही मात्रामा भए पनि न्यून गर्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन तथा खेलकुदसँग सम्बन्धित विभिन्न उपयोगी सामग्री वितरण गरिएको अनेरास्ववियूका सिन्धुपाल्चोक सह – संयोजक हिरा चौलागाईंले जानकारी दिनुभयो ।

 

पहिरो पीडितहरुलाई राहतका नाममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले खाद्यान्न, लत्ताकपडा एवं स्वास्थ्य सामग्री वितरण गर्दै आएपनि बालबालिकाको कलिलो मस्तिष्कलाई कुनै असर पर्न नदिन र अध्ययनमा लगाव बढाउन सजिलो होस् भन्ने अभिप्रायले अनेरास्ववियूले अध्ययन र खेलकुदका सामग्री वितरण गरेको चौलागाईंको भनाइ छ ।

सिन्धुपाल्चोकमा गत भदौ १८ गते गएको पहिरोका कारण २५ जनाको ज्यान गएको थियो भने ३७ घरपरिवार विस्थापित भएका थिए । अनेरास्ववियूले बालबालिकालाई अध्ययन र खेलकुदका सामग्री वितरण गरेपछि बालबालिका र अभिभावकले खुसी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्