बुटवल : प्रदेश ५ को नाम र राजधानीको विषयमा निर्णय गर्न बसेको प्रदेश सभा बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर नाराबाजी लगाउँदै विरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए। कांग्रेसले प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने प्रस्तावको विरोध गरिरहेको छ। त्यस्तै नेकपाकै सांसदले पनि बुटवलबाट दाङ सार्ने प्रस्तावको विरोध गरिरहेका छन। नेकपाले भने दाङलाई राजधानी बनाउने निर्णयको पक्षमा मतदान गर्न ह्वीप जारी नै गरिसकेको छ। विपक्षी दलका सांसद वीरेन्द्र कनौडियाले बोलेपछि कांग्रेसका सांसदहरुले रोस्ट्रम घेर्दै अवरुद्ध गरेका हुन्। बैठक २ बजे बस्ने जानकारी सभामुख पूर्णबहादुर घर्तीले दिएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा पनि अवरोध गर्ने तयारी कांग्रेसले गरेको छ। नेकपा नेतृत्वको सरकारले बहुमतको दम्भमा स्थायी राजधानी दाङ लान खोजेको भन्दै कांग्रेस संसददेखि सडकसम्म विरोधमा उत्रिएको छ।
October 5, 2020 145
प्रतिकृया दिनुहोस्