Sunday, February 28

सांसद गोकर्ण विष्ट भन्छन् : जनता थाल थाप्न बाध्य भइरहेका बेला दसैं भत्ता कसरी लिनु !

October 19, 2020 192

सांसदहरूले एकपछि अर्काे दसैं भत्ता फिर्ताको घोषणा गरिरहेका छन्।यसै क्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सांसद गोकर्ण विष्टले पनि सरकारबाट उपलब्ध दसैं भत्ता फिर्ताको घोषणा गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै सांसद विष्टले देश कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला सांसदले दसैं भत्ता लिनु उपयुक्त नलागेकाले फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्। संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

खाँडकाअनुसार कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्। फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको उनको भनाइ छ।

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ। जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ।

 

प्रतिकृया दिनुहोस्