Thursday, March 4

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेटवार्ता गरेको खुलासा, के भयो कुराकानी ?

October 22, 2020 218

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए । साथै उनले आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील पनि गरेका छन् ।

सचिवालको विज्ञप्ति

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

विष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक

अध्यक्ष प्रचण्डको निजी सचिवालय

यस्तै, नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेट नगरेको बताएका छन्। बुधबार अकस्मात काठमाडौं आएका भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्री केपी ओलीसहित विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरेको समाचार सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले समाजिक सञ्जाल ट्वीटरमार्फत आफूले रअ प्रमुख गोयलसँग भेट नगरेको बताएका हुन्।

‘पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय संचारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भउकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ,’ ट्वीटमा नेता नेपालले लेखेका छन्।

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।

यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेका छन् । उनले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै शिष्टाचार भेट गरेको बताएका छन् ।

नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा गोयलल आफ्नो धारणा राखेको बताइएको छ ।

भेटबारे प्रधानमन्त्रीको सचिवालयले प्रेस नोट जारी गरेको छ । यस्तो छ प्रेस नोट:

प्रेस नोट

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँ भेटकाे लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।

भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।

सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार

 

 

 

 

प्रतिकृया दिनुहोस्