Sunday, June 20

विप्लव २ वर्षपछि सार्वजनिक हुँदै, एक हजार बढी नेता कार्यकर्ता रिहा हुने

March 4, 2021 122

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ २ वर्षपछि भोली (शुक्रबार) सार्वजनिक हुँदै छन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको तीन बुँदे सहमतिपछि विप्लव नेतत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका हुन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । अब प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् ।

सरकार-विप्लव समुहबीच तीन बुँदे सहमति भएसँगै सो समूहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । विप्लव समूहले यसअघि राज्यले आफ्ना एक हजार बढी नेता कार्यकर्ता नियन्त्रणमा लिएको बताएका थिए । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत छन् ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने, विप्लव समूहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने उल्लेख छ । त्यस्तै सहमतिमा विप्लव नेृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्नेगायत विषयहरु रहेका छन् ।

हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा सरकारले दुई वर्ष अघि फागुन महिनामै प्रतिबन्ध लगाएको थियो ।

मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । त्यस लगत्तै प्रतिबन्धित विप्लव समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएर वार्ताका लागि तयारी भएका थिए ।

प्रतिकृया दिनुहोस्