Thursday, April 15

विप्लव हेलिकोप्टरबाट काठमाडौंमा आउने, १ सय ४४ नेता-कार्यकर्ता छाड्ने सहमति

March 4, 2021 144

काठमाडौं । भूमिगत रहेका नेकपा पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौंमा भोली (शुक्रबार) हेलिकोप्टरमा आउने भएका छन् ।

भूमिगत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ रोखेको छ ।

विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतकाअनुसार विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।

विप्लव दुई वर्षदेखि सार्वजनिक भएका छैनन् । भूमिगत रहेका विप्लव कहाँ छन् भन्नेबारे खुलाइएको छैन । सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते (भोली) सार्वजनिक हुँदै छन् ।

भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

सरकार-विप्लव समुहबीच तीन बुँदे सहमति भएसँगै सो समूहका एक हजार ३६ जना बढी नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । विप्लव समूहले यसअघि राज्यले आफ्ना एक हजार बढी नेता कार्यकर्ता नियन्त्रणमा लिएको बताएका थिए । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत छन् ।

१ सय ४४ जनालाई छाड्ने सहमति
‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन् । सो समूह र सरकारबीचको तीन बुँदे सहमतिको एउटा बुँदामा ‘सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी ।’ लेखिएको छ ।

सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको हो ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने, विप्लव समूहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने उल्लेख छ । त्यस्तै सहमतिमा विप्लव नेृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्नेगायत विषयहरु रहेका छन् ।

हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा सरकारले दुई वर्ष अघि फागुन महिनामै प्रतिबन्ध लगाएको थियो । मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । त्यस लगत्तै प्रतिबन्धित विप्लव समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएर वार्ताका लागि तयारी भएका थिए ।

 

प्रतिकृया दिनुहोस्