बिहिबार ०७ आश्विन २०७८

वासिंगटन डिसी।नारायण रसाइली एवं उनकी पत्नी तारालाई जीवनमा कल्पनै नगरेको पीडा दिए। अमेरिकाको ओहायो राज्यको कोलम्बिया शहरमा सन् २०१९ देखि आफ्नै गहना पसल खोलेर बसेका नेपाली भाषी नारायण रसाइली र उनको परिवार यी अनौठा लाग्ने लुटेराहरुका कारण चिन्तित भएको छ। उनका ग्राहक प्रायजसो नेपाली भाषी नै हुन्थे, नेपालीहरु आउँथे, आफूलाई चाहिएको सामान किनेर लैजान्थे, यी वाहेक फाट्ट फुट्टमात्र अरु मानिसहरु उनको पसलमा पुग्थे। तर, त्यसदिन अचम्म भयो, टाउकोमा फेटा बाँधेका चारवटी महिला र एशियन मूलका (तर,नेपाली होइनन्) दुईजना लोग्ने मान्छे ज्वेलरी किंग युएसए नामको सुन पसलमा पसे। उनीहरुको अंग्रेजी भाषा पनि कमजोर अर्थात् स्पष्ट थिएन। एकछिन पसलभित्र यो हेर्ने, त्यो हेर्ने, यो देखाऊ, त्यो देखाऊ भनेर सबै थोक किन्न खोजेजस्तो गरेर उनीहरुले आफ्नो हाउभाउ देखाए। यसैबीचमा एकसय डलर मूल्य पर्ने सुनको नत्थी र २० डलर पर्ने चाँदीको औंठी पनि किने। ६ जनाको समूहमा पसेका उनीहरुले सुन पसलमा पसेर पत्तै नपाउने गरी अल्मल्याएर एकलाख अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एक किलो सुनका गहना चोरेर लगिदिए।

भर्खर भर्खर उभोलाग्दै गरेको गहना व्यापारलाई अझ फस्टाउने बनाउन नारायणले केही समयअघि मात्रै एक किलो सुनका सिक्री र २ किलो सुनका ब्रासलेट होलसेल पसलबाट ऋणपान गरेर आफ्नो कोलम्बसस्थित पसलमा ल्याएका थिए।

उनले ती सामानहरु सिकागोको होलसेल पसलबाट मगाएका थिए। नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको ओहायोका विभिन्न शहरमा बाक्लो बस्ती बनिसकेको छ। चाड बाड नजिकिएको अवस्था र सुनका गहनाको बढ्दो माग एवं आफैं पनि गहना बनाउन सक्ने खुवी भएका कारण नारायणको गहना पसलमा चहल पहल पनि थियो।

दिउँसो साढे चारजस्तो बजेको थियो, घटनाबारे डिसी नेपालसँग कुराकानी गर्दै नारायणले भने, “म नानीलाई लिन स्कूल गएको थिएँ, मेरी पत्नी पसलमा थिइनँ। फेटा बाँधेका र मास्क लगाएका छ जनाको हुल पसलमा पसेछ। गहनाहरु हेर्न खोजेछन्। उनले गहनाहरु देखाइन्। त्यसमध्ये एउटा नत्थी र एउटा चाँदीको औठी खरिद पनि गरेछन्। ग्राहकले सामान किनेर लगेकोमात्र उनले तत्काल सोचिछन्। जव अर्को ग्राहक आएर झुम्का हेर्न खोज्दा पो त्यो र्‍यागमा राखेको सुनका सिक्रीहरुको ट्रे नै हराएको थाहा पाइछन्।”

“त्यसदिन मेरी पत्नीको जन्म दिनको दिन थियो। म भने छोरीलाई स्कूलबाट रिसिभ गरेर श्रीमतीका लागि जन्म दिनको उपहार केही किन्छु भनेर केही परको सपिङ्ग मलतिर पुगेको थिएँ”, नारायणले घटनाबारे जानकारी दिँदै थपे, उनले सिक्रीको ट्रे नै नदेखेपछि आत्तिदै र चिन्तित हुँदै छिटो आउनु कि छिटो आउनु भनेर फोन गरिन् म पनि आत्तिदै पसलमा फर्किएँ । पसलमा सिसी टिभी राखिएको थियो तर त्यसको रेकर्ड हुने कोठाको चावी भने मसँग थियो त्यसैले उनले सामान हराए पनि कसरी हरायो भनेर पत्तो लगाउन सकिनन्। जव म हत्तारिँदै पसल पुगेर सिसी टिभीको रेकर्ड हेर्न थालेँ अनि त लुटेरा प्रष्ट देखिए। सिक्रीले भरेर राखेको ट्रे यता उता हेर्दै तिनै छ जनामध्येको एकले आफ्नो झोलामा भरेर लगेको सिसी टिभीमा देखियो।


Last Updated on: August 28th, 2021 at 1:28 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया