मंगलबार ०३ जेठ २०७९

मुक्तिकोट, बाजुरा — स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी मनपुजा कामी २२ वर्ष टेकिन् । पाँच वर्षअघि हिरामनी कामीसँग विवाह बन्धनमा बााँधिएकी उनको दुई सन्तानमात्रै जन्माउने चाहना छ । दुई सन्तानको रहर पूरा गर्न उनले तीन वर्षमा तीनवटै शिशुलाई जन्म दिइन् । अहिले उनको साथमा एउटी छोरी मात्रै छिन् ।

चैत ५ मा भेट्दा ६ दिनकी सुत्केरी उनको काख भने रित्तै थियो । जन्माएको भोलिपल्टै सन्तान गुमाएको शोकले गलेकी उनी आफ्नो दुःख खुलेर सुनाउन सक्ने अवस्थामा थिइनन् । सुत्केरी गोठको ढोकामा बसेर टोलाइरहेकी उनको अनुहारको रङ फुङ्ग उडेको थियो । थाकेका आँखाले गाउँपारिपट्टिको मनिकाँडा लेकतिर एकटकले हेरिरहेकी थिइन् ।

‘पोहोर साल पुसमा पनि एउटा छोरो भयाको थियो, जन्म्याको चौथा दिन मर्‍यो । यै पाला त जे भया पनि बाँची झाला (बाँची हाल्ला) सुच्याकी थ्या । यो त झन् दुई दिन पनि रहेन, जन्मेको भोलिपल्टै (चैत १ गते),’ तेस्रो सन्तानका रूपमा जन्मिएको छोरा गुमाएको कुरा उनले दबिएको स्वरमा सुनाइन्, ‘नौ महिनासम्म पेटमा बोकेका दुई सन्तान निकोअरी (राम्रोसँग) खेलाउन पनि नपाई खड (खेर) गए ।’ मृत्यु भएका दुवै शिशुले जन्मेको केही घण्टासम्म रुने, चलमलाउने गरे पनि दूध चुस्न नसकेको र बेहोस भएको बताइन् ।

आफ्नो र तीन वर्षीया छोरीको पनि ज्यान गल्दै गएको उनले सुनाइन् । ‘यसले (छोरीले) पनि असोजदेखि राम्रोसँग भात खाएकी छैन, पहिला जस्तो खेल्दा पनि खेल्दिन । के पो भयो त्यसै गलेकी छ । पेट पनि सुन्निन लागेको छ,’ उनले भनिन्, ‘मलाई पनि चक्कर (रिंगटा) लाग्दो छ, हातगोडा गल्दा छन् । आँखा पनि राम्ररी देख्दैन । तिरिमिरी हुन्छ ।’ उनले आमाछोरी दुवै जना पनि मरिहाल्छौं कि जस्तो लाग्ने गरेको बताइन् । ‘सुइना पनि निका देखिँदैनन् । के भयो ? के भयो ?’ उनले भनिन् ।


Last Updated on: March 24th, 2022 at 5:40 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया