सोमबार ११ आश्विन २०७८

अर्जेन्टिनी कप्तान लियोलन मेस्सीले आज पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गर्ने भएका छन् । यसै समरमा स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रान्सको राजधानी बसाइँ सरेका ३४ वर्षीय मेस्सीलाई मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले मैदान उतार्ने सङ्केत गरेका छन् ।

फ्रान्सेली लिग वानअन्तर्गत पिएसजीले आज नेपाली समयानुसार राति १२ः३० बजे स्टेड डि रेइम्ससँग खेल्दै छ । रेइम्सको मैदानमा हुने उक्त खेलमा पिएसजी लगातार चौथो जित निकाल्ने दाउमा छ । यसअघि तीन खेलमा लगातार जित निकालेको पिएसजी नौ अङ्कसहित शीर्ष स्थानमा छ भने रेइम्स तीन अङ्कसहित १२औँ स्थानमा छ ।

स्पेनको २१ वर्षे बसाइ अन्त्य गरेर फ्रान्सको राजधानी पुगेका मेस्सी टोलीमा नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारियासँग प्रशिक्षणरत छन् । तर उनले अघिल्ला तीन खेल खेलेनन् । अब, रेइम्ससँगको खेलपछि उनी अन्तर्राष्ट्रिय ड्युटीमा फर्किने भएका कारण पनि उक्त खेलमा उनको डेब्यु निश्चित छ ।

केही दिनअघि पोचेटिनोले रेइम्ससँगको खेलमा मेस्सीले खेल्ने जनाएका थिए । पोचेटिनोले भनेका थिए, ‘लियोले राम्रोसँग प्रशिक्षण गरिरहेका छन् । यदि सबै कुरा राम्रो हुँदै गएमा मेस्सी आगामी खेलका लागि टिममा हुनेछन् । सबै हिसाबले फिट रहेको खण्डमा रेइम्सविरुद्ध उनले केही समय पाउनेछन् ।’

तथापि, उनले रेइम्ससँगको खेलमा मात्र ३० मिनेट खेल्ने आँकलन गरिएको छ । पोचेटिनोको साथमा १५ दिन काम गरिसकेका मेस्सी वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्ने सम्भावना रहेको जनाइएको छ । उनी कोपा अमेरिका खेलेयता मैदान उत्रिएका छैनन् । यस खेलपछि मेस्सी पुनः अर्जेन्टिनाको टिममा फर्किनेछन् ।

अर्जेन्टिना सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेल्ने तयारीमा छ । गत सोमबार मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फको खेल खेल्न मेस्सीको कप्तानीमा ३० सदस्यीय टोली घोषणा गरेका छन् । विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले तीन राष्ट्रसँग खेल्ने छन् ।

अर्जेन्टिनाले भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ३ सेप्टेम्बरमा भेनेज्वलासँग खेल्नेछ भने ५ सेप्टेम्बरमा ब्राजिलको सामना गर्नेछ । यस्तै, १० सेप्टेम्बरमा बोलिभियासँग खेल्नेछ । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ अर्जेन्टिना १२ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले ६ खेल खेलेको छ ।

नेयमार, मेस्सी र एम्बाप्पे एकसाथ मैदान उत्रिन सक्ने

प्रशिक्षक पोचेटिनोले यस खेलमा नेयमारलाई पनि मैदान उतार्ने सम्भावना छ । मेस्सीसँगै प्रशिक्षण गरिरहेका नेयमारले यसअघिका तीन खेल खेलेका थिएनन् । यता, अर्का स्ट्राइकर किलियन एम्बाप्पे भने नियमित टोलीमा पर्दै आइरहेका छन् । त्यसबाहेक पिएसजीले सर्जियो रामोस, जियानलुइगी डोनारुम्मालाई डेब्यु गराएको छैन । रामोस चोटका कारण टोलीबाहिरै छन् भने डोनारुम्मा प्रशिक्षणरत रहेपनि खेल्न पाएका छैनन् ।

अघिल्लो सिजन लिग वान जित्न असफल बनेको पिएसजी यो सिजन भने स्टार खेलाडीको सहायतामा घरेलु लिग र च्याम्पियन्स लिग जित्ने दाउमा छ । उसले मेस्सी, रामोस, डोनारुम्मालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको थियो भने अच्राफ हाकिमी, जर्जिनियो विज्नाल्डमलगायत खेलाडीलाई रकम खर्चिएर यसै समरमा भित्र्याएको थियो।


Last Updated on: August 29th, 2021 at 11:55 am
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया