शुक्रबार ०८ आश्विन २०७८

१३ भदौ, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउँदा पशुचौपाया पुरेको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशुचौपायाहरुमा क्षति पुर्‍याएको हो ।
अविरल वर्षाका कारण गएको पहिरोले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घरपरिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका–८ ठूलोखर्क बस्ने नरबहादुर पौडेलको गोठ पहिरोले भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसैगरी अविरल वर्षाकै कारण गुल्मीदरबार गाउँपालिका–३ फुर्सेका कमलबहादुर कँुवरको दुईतले टिनले छाएको गोठ भत्किँदा चारवटा बाख्रा मरेका छन् ।

मुसिकोट नगरपालिका–१ पौदीअमराईमा पहिरोले हीराबहादुर रानाको घर भत्किएको छ । कुनै मानवीय क्षति नभए पनि घर भने पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक बिग्रेका छन् ।


Last Updated on: August 29th, 2021 at 2:44 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया