बिहिबार ०७ आश्विन २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाबुवाटारमा बोलाएर झपारेका छन् । मन्त्रीहरुको नामावली दिन ढिलाई गरेको भन्दै प्रचण्डलाई देउवाले बालुवाटारमै बोलाएर झपारेका हुन् । ‘तपाईँ मलाई असफल बनाउन खोज्ने ? सरकार बनेको ४७ दिन बितिसक्यो । किन मन्त्रीको नाम दिनु भएन् ।’ देउवाको भनाई उढृड गर्दै श्रोतले भन्यो, ‘पहिला माधव नेपाललाई कुर्नुहोस् भन्नुभयो । नयाँ पार्टी बन्दा पनि किन ढिलाई । अरे वावा छिटो गर्नुहोस् ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार छिट्टै हुने प्रचण्डले वचन दिएको श्रोतको भनाई । प्रचण्डले लगभग मन्त्रीहरुको लिष्ट तयार गरिसकेका छन् ।

भेटमा सरकारलाई यथाशिघ्र पूर्णता दिनेबारे प्रचण्डले वचन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । दाहालले यसअघि माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो टुंगाउन आग्रह गरे । माधव नेपाल र उपेन्द्र यादवलाई पनि छिटो टुंग्याउन पहल गर्न प्रचण्डको ध्यानाकर्षण गराए ।

आज हुने भनिएको मन्त्रीपरिषद विस्तार नहुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री छान्न नसक्दा मन्त्रीपरिषद विस्तार रोकिएको हो ।

सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) मा मन्त्रीका आकांक्षी मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् ।

कुन दलले कति मन्त्रालय लिने टुंगो लागे पनि कसले कुन मन्त्रालय लिने भन्ने पनि मिलिसकेको छैन ।प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार उनीहरूले नाम दिएलगत्तै गर्ने तयारी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रै हुने र त्यसपछि सरकारको काम प्रभावकारी हुने बताए । ‘अब धेरै ढिला हुन्न । केही दिनभित्रै विस्तार होला,’ उनले भने, ‘त्यसपछि सरकारको काम चुस्त हुन्छ ।’ स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् ।

महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।

सत्तारूढ दलहरूभित्रै मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा पनि अलमल भइरहेको नेताहरूले बताएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटीका एक सदस्यले भने, ‘हामीले सरकारमा पठाउने पात्रको विषयमा शुक्रबार छलफल गरेका छौं । आकांक्षी धेरै देखिएका छन्, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ ।’ तर, ती नेताले विवादका बीच पनि मापदण्ड बनाएर नाम टुंग्याउनुको विकल्प नरहेको बताए । ‘सरकारमा जाने औपचारिक निर्णय गरिसक्यौं, व्यक्तिव्यक्तिका अनुहार हेर्ने हो भने सबै उस्तै देखिन्छन्, त्यसकारण मापदण्ड बनाउने र टुंग्याउने भन्नेछ, त्यसो गर्दा विवाद पनि कम हुन्छ,’ ती नेताले भने ।

अहिलेसम्म युवा र महिलाको नेतृत्व गर्दै रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने भन्नेमा करिबकरिब सहमति जुटेको उनले बताए । त्यसबाहेक प्रदेश १ बाट भवानी खापुङले दाबी गरेका छन् भने वाग्मती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठको दाबी छ ।

गण्डकी प्रदेशबाट किसान श्रेष्ठको मुख्य दाबी छ । सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर र प्रेम आलेले दाबी गरेका छन् । उनका अनुसार एकीकृत समाजवादीले उपसभामुखमा पनि दाबी गरेको छ । उपसभामुख पाए प्रदेश २ बाट एक जना महिलालाई अघि सार्ने तयारी छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गरी सरकारका प्राथमिकतालाई अगाडि बढाउने बताए । ‘मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुनु उचित होइन, छिट्टै पूर्णता दिएर काम अगाडि बढाउनुपर्छ,’ उनले भने ।

गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । माओवादीले ६ मन्त्रालय दाबी गरेमा जसपाले चार मन्त्रालय र एक राज्यमन्त्री पाउनेछ । कांग्रेसले एक राज्यमन्त्री बनाइसकेको छ । बाँकी एक राज्यमन्त्रीमा माओवादी वा एकीकृत समाजवादीले लिने समझदारी भएको छ ।


Last Updated on: August 29th, 2021 at 6:03 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया