बिहिबार ०७ आश्विन २०७८

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघमा कडा प्रस्ताव पारित भएको छ । भारतको अध्यक्षतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा अफगानिस्तानको जमिनको प्रयोग कुनै देशलाई धम्की दिन वा चरमपन्थीहरुलाई शरण दिनको लागि गर्न नपाइने माग गरिएको छ ।

प्रस्तावमा तालिबानसँग अपेक्षा पनि गरिएको छ कि उसले देश छाड्न चाहने अफगानी नागरिकहरुलाई र सबै विदेशी नागरिकहरुलाई सुरक्षित अफगानिस्तानबाट बाहिर निस्किन दिनका लागि जुन प्रतिबद्धता जनाएको छ त्यसको पूर्ण पालन गर्नेछ । सुरक्षा परिषदको यो सोमबार प्रस्ताव पारित भएको हो ।

फ्रान्स, बेलायत, अमेरिकासहित सुरक्षा परिषदका १३ सदस्य देशहरुले यसको पक्षमा मतदान गरेका छन् । कुनै पनि सदस्यले यो प्रस्तावको विरोध गरेनन् । भिटो अधिकार पाएका सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रुस र चीनले भने मतदानमा भाग लिएनन् । १५ अगष्टमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि १५ सदस्यीय सुरक्षा परिषदले अफगानिस्तानको विषयमा पारित गरेको यो पहिलो प्रस्ताव हो ।

सुरक्षा परिषदमा भारतको अध्यक्षता रहने आज अन्तिम दिन हो । अगष्ट महिना समाप्त भएसँगै भारतको अध्यक्षता पनि समाप्त हुनेछ । प्रस्तावमा अफगानिस्तानको सम्प्रभुता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्धता दोहोर्याउँदै काबुल विमानस्थलमा इस्लामिक स्टेटले गरेको आक्रमणको भर्त्सना तरिएको छ ।


Last Updated on: August 31st, 2021 at 11:29 am
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया