सोमबार ११ आश्विन २०७८

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ । झापाको शिवसताक्षी– २ का ३९ वर्षीय यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् ।

बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं हुन् । प्रसाईं उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्ज्वल थापा कोरोना संक्रमण भएर उपचाररत छँदा सबै उपचार खर्च बिएन्डसी अस्पतालले व्यहोर्ने सार्वजनिक घोषणा गरेका थिए । थापाको उपचारका लागि देश–विदेशका शुभचिन्तकबाट लाखौँ रकम जम्मा भइरहँदा १५ जेठमा प्रसाईंले विज्ञप्ति निकालेर उक्त घोषणा गरेका थिए । उनै प्रसाईंको त्यही अस्पतालले उपचार खर्च तिर्न नसकेका श्रेष्ठदम्पतीलाई भने ६ महिनादेखि बन्धक बनाएको छ ।

१९ फागुन ०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को.१ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक विराटनगरस्थित रिजाल ग्यास उद्योगको हो जसका सञ्चालक हुन् नवीन रिजाल । दुर्घटनामा कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकलमा रहेका श्रेष्ठदम्पती घाइते भएका थिए ।

उपचारका लागि बिएन्डसी पुर्‍याइएका यामबहादुरको दायाँ खुट्टा नै काटेर फाल्नुपर्‍यो । श्रीमती सनमको दायाँ खुट्टामै स्टिल राखिएको छ, तर अहिले पनि खुट्टा राम्ररी चल्न सक्दैन । अस्पतालले उपचार सकिएको भन्दै ४२ लाखको बिल थमाएर वैशाख अन्तिम साता डिस्चार्ज हुन भनेको थियो । तर, भुक्तान गर्न उनीहरूको आर्थिक हैसियतले पुगेन ।

परिवारले जेनतेन १२ लाख जुटाएर बुझायो । तर, बाँकी ३० लाख पनि नतिरेसम्म अस्पतालले छाड्न मानेन । ठक्कर दिने ट्रकका मालिक रिजाल ग्यासका सञ्चालकले पनि बिल तिरिदिएनन् । त्यसपछि उनीहरू अस्पतालमै बन्धक बनाइए । यामबहादुरलाई खुट्टा गुमाउनुपर्दाको पीडा त छँदैछ, त्यो भन्दा ठूलो पीडा उपचार खर्च बुझाउन नसकेर आधा वर्ष अस्पतालमै बन्धक हुनुपरेकोमा छ ।

‘खुट्टा त गुमाएँ, उपचार खर्च बुझाउन नसक्दा अहिले जेलमा बसेजस्तै भएको छ । डिप्रेसन होलाजस्तो भएको छ । यहाँबाट निस्किन पाए त जसोतसो जीवन चलाउने थिएँ,’ बेड नं. २०२१ बाट यामबहादुरले भने, ‘दुर्घटना गराएको ट्रकले हो, कानुनअनुसार ट्रकको साहुबाट अस्पताललाई तिर्न लगाएर हामीलाई छाडिदिए भइहाल्थ्यो नि ! तर अस्पतालले बन्धक बनाएर के गरेको ?’

यामबहादुर आडैको अर्को बेडमा श्रीमती सनम पनि बेचैन छिन् । ‘घरमा दुई छोरीहरू छन् । सानी त भर्खर अढाई वर्षकी भइ । उसले नियमित दूधसमेत खान पाइन, बेलाबेला अस्पताल ल्याउन भनेर खुवाउँछु । ११ वर्षकी जेठी छोरी फोनमा कुरा गर्छे । ममी कहिले आउने भनेर सोध्दै रुन्छे,’ सनम भन्छिन्, ‘बन्धक जीवन बिताउन साह्रै गाह्रो छ । पैसा भएको भए पनि तिरेर निस्कनुजस्तो भएको छ ।’

छोरा–बुहारी अस्पतालमा बन्धक छन्, नातिनातिना घरमा बाबुआमा खोज्छन् । यो देखेर यामबहादुरकी आमा देवीमायाको मन अमिलिन्छ । उनी छोराबुहारी भेट्न जतिपटक अस्पताल आउँछिन्, पीडा बोकेर घर फर्किन्छिन् । ‘उपचारको पैसा तिर्न नसकेर छोराबुहारी घर जान पाएका छैनन् । दूध खाँदै गरेकी नातीनी सधैँ आमा खोज्छे,’ बिएण्डसी अस्पतालमै भेटिएकी देवीमायाले भनिन्, ‘वेलावेला अस्पताल ल्याएर सानी नातीनीलाई फकाउने गरेकी छु ।’

वैदेशिक रोजगारीका लागि पोर्चुगल बसेर दुई वर्षपछि छुट्टीमा घर आएका उनी गत चैतसम्म फर्कनुपर्ने थियो, दुर्घटनाले उनको जीवनमा नमिठो मोड लियो । परिवारका सदस्यसँग पनि उनीहरूलाई छुटाउन सक्ने कुनै शक्ति छैन ।

‘हामीले सक्ने १२ लाख त जम्मा गर्‍यौँ । तर, यतिले मात्र दाइभाउजूलाई निकाल्न पुगेन,’ भाइ ख्यामबहादुर भन्छन्, ‘दुई महिनामै डिस्चार्ज भएका उहाँहरूलाई आजसम्म निकाल्न सकिएन । अस्पतालमै बन्धक भएर जीवन बिताउन बाध्य हुनुहुन्छ ।’

दुर्घटनाको सुरुवाती समयमा रिजाल ग्यासका सञ्चालक रिजाल सम्पर्कमा रहेको ख्यामबहादुर बताउँछन् । त्यतिखेर डेढलाख जति दिएको पनि उनले बताए । तर, पछिल्लो सयम उनीहरू सम्पर्कमै आउन नचाहेको ख्यामबहादुरको भनाई छ । रिजालले पहुँचका आधारमा अस्पतालको बिल नतिरिदिएको उनको गुनासो छ ।

तर, रिजाल ग्यास उद्योगका व्यवस्थापक नरतन नेपाल दुर्घटनामा ट्रकको गल्ती नभएको दाबी गर्छन् । ‘हाम्रो गाडीको गल्ती छैन । सुरुमा मोटरसाइकल र कार जुधेका हुन् । पछि कार हाम्रो ट्रकमा आएर ठोक्किएको हो । प्रहरीले बनाएको मुचुल्काको आधारमा ठूलो गाडीको मात्र गल्ती देख्नु हुँदैन,’ उनले भने ।

त्यसो भए सुरुमा उपचार खर्च तिर्न किन तयार हुनुभयो त ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो मानवीयताका आधारमा गरेको हो । कम्पनीको गाडी हो भन्दैमा हामीलाई मारमा पार्नु हुँदैन ।’

तर, इलाका प्रहरी कार्यालय अनारमनीले भने कार र मोटरसाइकललाई ट्रकले नै ठक्कर दिएर दुर्घटना भएको जनाएको छ । त्यही आधारमा मुद्दा अदालत पुर्‍याइएको प्रहरी नायव उपरीक्षण सन्तोष आचार्यले बताए ।

‘ट्रकले नै दुर्घटना गराएको हाम्रो अनुसन्धानको निष्कर्ष हो । त्यही आधारमा चालक प्रेमबहादुर वाइबा पुर्पक्षका लागि कारागार चलान भएका छन्,’ उनले भने, मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले धेरै बोल्न मिल्दैन ।’

दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति र उपचार खर्चका विषयमा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । प्रजिअ श्रवणकुमार तिमिल्सिन पनि ट्रककै गल्ती भएको बताउँछन् । तर, उनले ट्रक र चालक नियन्त्रणमा रहेको तथा मुद्दा कानुनी प्रक्रियामा रहेकाले अस्पतालले लिनुपर्ने रकम सम्बन्धित पक्षबाट पछि दिराउने सर्तमा श्रेष्ठ दम्पत्तिलाई घर पठाउनु पर्ने थियो । तर, पीडितले प्रहरीलाई अस्पतालको बिल बेलैमा नबुझाउँदा र लकडाउनका कारण जिल्ला न्यायधिवक्ताको कार्यालयबाट मिसिल आउन समय लाग्दा प्रक्रियामा ढिलाई भएको उनको दाबी छ । अब आउँदो सोमबार फैसला हुने उनले बताए ।

‘प्रहरीले त्यसै मुद्दा लिएर त आउँदैन नि । निर्दोषलाई दोषी बनाउँदैन नि ! सुरुमा त उहाँहरूले पीडितलाई पैसा पनि दिनुभएको छ,’ उनले भने, ‘मु्द्दा कानुनी प्रक्रियामा छ । छिट्टै टुंगिन्छ । वकपत्रको काम भइरहेको छ । ट्रकका साहुलाई बोलाउँदा आउनु भएन । अब सोमबार पेसी तोकेको छु, फैसला नै गर्नुपर्ने भयो ।’ बिएण्डसी अस्पतालले भने ६ महिनादेखि उपचार गरिरहेका श्रेष्ठ दम्पतीको डिस्चार्ज नै नभएको दाबी गरेको छ । यद्यपि ट्रक साहु सम्पर्कमा नआउँदा बिरामी समस्यामा परेको अस्पतालका जनसम्पर्क अधिकृत प्रसिम गिरीले बताए ।

‘हामी पैसा नहुँदा उपचार कहिल्यै रोक्दैनौँ । उहाँहरूको उपचार भइरहेको छ,’ गिरीले भने, ‘तर, गाडी साहु अझै सम्पर्कमा आएनन् । दुर्घटना गराएर यसरी बेवारिशे बनाएर छाड्नेलाई प्रशासनले कानुनी कारबाही गरोस्,’ उनले भने ।


Last Updated on: September 2nd, 2021 at 11:49 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया