शुक्रबार ०८ आश्विन २०७८

फिफा विश्वकप छनोटमा स्पेनले पहिलो पटक हार बेहोरेको छ । सन् २०२२ मा हुने विश्वकप फुटबल छनोट खेलमा स्पेन स्विडेनसँग २–१ गोलले पराजित बनेको हो ।

बिहीबार राति विश्वकपको युरोपियन छनोटतर्फ स्विडेनले घरेलु मैदानमा स्पेनलाई हराएको हो । स्विडेनको जितमा एलेक्जेन्डर इसक र भिक्टर क्लासनले एक–एक गोल गरे । स्पेनका कार्लोस सोलरले एक गोल गरे ।

खेलको चौथो मिनेटमा नै सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै इसकले गोल गर्दै स्विडेनलाई खेलमा फर्काए । खेलको ५७औँ मिनेटमा क्लासनले गोल गर्दै स्विडेनको जित सुनिश्चित गरे ।

यसअघि सन् १९९३ मा कोपनहेगनमा स्विडेनको छिमेकी डेनमार्कले विश्वकप छनोटमा स्पेनलाई हराएको थियो । त्यसपछि स्पेनले विश्वकप छनोटमा ५२ खेल जितेको छ भने १४ खेल बराबरी खेलेको छ ।

जितसँगै स्विडेनले स्पेनलाई उछिन्दै समूह ‘बी’ शीर्ष स्थान बनायो । स्विडेनले तीन खेलमा नौ अङ्क जोड्यो भने दोस्रो स्थानमा रहेको स्पेनले चार खेल खेल्दा सात अङ्क जोडेको छ ।


Last Updated on: September 4th, 2021 at 3:59 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया