सोमबार ११ आश्विन २०७८

कपिलवस्तु जिल्लाको यशोधरा गाँउपलिका–८ खोरियामा बाणगंगा नदीको किनारमा निर्माण गरिएको तटबन्धको बाँध भासिएको छ । उक्त बाँध फुटेमा खोरिया गाँउका २ सय ८० बढी घर डुबानमा परी क्षति ब्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यस्तै नजिकका अन्य १० बढ गाँउहरु पनि प्रत्यक्ष प्रभावित हुने निश्चित छ । गत साताको बाढीले खोरिया गाँउको बाँध भासिएर नदी कटानको जोखिम उच्च बनेको थियो । सो पश्चात स्थानीय प्रशासनको अगुवाईमा नदी कटान नियन्त्रणका लागि संरक्षणका अभियान थालिएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सहसराम यादवसहित जनप्रतिनिधि र सुरक्षा निकायको टोलीले नदी कटान हुनसक्ने स्थानको स्थलगत अवलोकन गरेको छ । सो क्रममा भासिएको क्षेत्रमा तत्कालै संरक्षणको कार्य गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।

तत्काल भासिएको क्षेत्रको १ सय मिटर क्षेत्रमा पायलिङ्ग गरी बोरामा ईटा र बालुवा भरेर हाल्न थालिएको प्राविधिकले जानकारी दिए ।

तत्कालका लागि अस्थाई रुपमा नदी कटान रोक्न संरक्षणका कार्य गरिएपनि नदी कटानले वर्षेनी हुने क्षति रोक्न स्थाई तटबन्ध निर्माणको आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिहरुको सुझाव छ ।

नदी कटानको समस्याको स्थाई समाधान गर्न प्रदेशका मुख्यमन्त्रीको चासो अनुसार आफू अनुगमनमा आएको मन्त्री यादवले जानकारी दिए । संरक्षणका लागि आवश्यक पर्ने योजनाको प्रतिवेदन तयार गर्न प्रशासनलाई निर्देशन दिदै आफूहरुले बजेट विनियोजनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।


Last Updated on: September 4th, 2021 at 5:07 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया