बिहिबार ३१ भाद्र २०७८

भाटभटेनी सुपर मार्केट प्रालिले इटहरीको लभिपुरमा १ विगाह १५ कठ्ठा क्षेत्रफलमा जमिन तीन अर्बको लगानीमा १९ औँ सुपर स्टोर सञ्चालनमा ल्याएको छ ।

शनिवार सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले उद्घाटन गरेपछि सर्बसाधरणका लागि सुपर स्टोर खुला गरिएको छ । शुभारम्भको अवसरमा लिकर्स र टोबेको बाहेकमा १० देखी २० प्रतिशत सम्म छुट दिइएको छ ।

प्रदेश नम्बर १ मा धरान, विराटनगर पछिको यो तेस्रो स्टोर हो । उद्घाटनमा सहभागी हुन प्रदेश १ का विभिन्न तहका १ लाख उपभोक्तालाई आमन्त्रण गरिएको थियो । भाटभटेनीको यो क्षेत्रफलका हिसाबले अहिले सम्मकै ठुलो स्टोर हो । इटहरी चोकबाट ४ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमै टाँसिएको यो स्टोरका तीन वटा ब्लक छन् । सबै ब्लक गरी ३ लाख स्क्वायर फिटको क्षेत्रफल छ ।

खोटाङ जिल्लामा जन्मिएका गुरुङले आफू जन्मिएको ठाउँमा सबैभन्दा ठुलो स्टोर प्रदेश नम्बर १ को व्यापारिक केन्द्रमा खोल्न पाएकोमा प्रसन्नताको व्यक्त गरे । इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो । यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइने लक्षका साथ निर्माण सुरु गरिएको सुपर स्टोरको काम कोभिड-१९ को विश्वव्यापी महामारीका कारण ढिलो भएर लक्ष भन्दा छ महिना ढिला मात्र शुभारम्भ गरिएको हो ।

सुपर स्टोरका तीन ब्लकमा बेसमेन्टसहित ७ तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्ग फिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ। मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्ग फिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ।

‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौँको पेपे पिज्जा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्ग फिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैङ्कका एटिएमहरू राखिएको छ ।

  • गुरुङले काठमाडौँको टोखा र साना गाउँसहित हेटौँडा, धनगढी र वीरगन्जमा भाटभटेनीका भवनहरू निर्माणाधीन रहेको जानकारी दिए ।

Last Updated on: September 4th, 2021 at 6:02 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया