शुक्रबार ०८ आश्विन २०७८

नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास असोज ४ बाट भारतको पिथौरागढमा हुने भएको छ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’को नाम दिइएको छ । सैन्य अभ्यास मुख्यरुपमा प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत हुनेछ । भारतको उत्तराखण्डको पिथौरागढमा हुने एक्सरसाइज सूर्य किरणको यो १५‍‍ औं संस्करण हो । पिथौरागढमा असोज ४ बाट सुरु हुने सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।

रक्षा मन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार, नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गर्नेछन् । नेपाली टोलीमा ३०० जनाको फौज हुनेछ । भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी हुने रक्षा मन्त्रालय स्रोतले बताएको छ । अभ्यास सूर्य किरणको १४ औं संस्करण नेपालमा भएको थियो । रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा ‘अभ्यास सूर्य किरण’को १४ संस्करण भएको थियो । त्यसअघि ‘अभ्यास सूर्यकिरण’को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमा भएको थियो ।

नेपालमा भएको १४ संस्करणपछि कोरोना भाइरस संक्रमणका कारण अभ्यास रोकिएको थियो ।अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्‍याउनेछ । अभ्यास सूर्यकिरणमा नेपाली र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ । नेपाली सेनाले अमेरिका र चिनियाँ जनमुक्ति सेनासँग समेत प्रतिआतंकवादलगायत विभिन्न विषय केन्द्रीत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । रक्षा मन्त्रालयले अमेरिकी र चिनियाँ सैनिकसँग संयुक्त सैन्य अभ्यास गर्नेबारे छलफल गरिरहेको छ ।


Last Updated on: September 5th, 2021 at 10:10 am
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया