बिहिबार ३१ भाद्र २०७८

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स ह’त्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

‘घटनाको जानकारी प्राप्त भएलगत्तै एसपी साबको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ,’ प्रहरी प्रवक्ता राईले भने, तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ।’ घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने उनले बताए ।

प्रहरीले घटना संलग्न नउम्किउन् भनेर सतर्कता अपनाएको छ । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।

प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ ।

उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । प्रहरीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो।

८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको छन्।

यसैगरी जिल्लाको प्रहरीको टोली पनि घटना स्थलतर्फ गएको छ घर । घटना भएको घर गाउँको एकान्तमा रहेको बताइएको छ । घटना गएराति नै भएको अनुमान गरिएको छ भने बिहान मात्रै प्रहरीले खबर पाएको थियो ।

छिमेकीको कहानीलाग्दो बयान-‘एकै परिवारका ६ जनालाई लखेटी लखेटी मा’रे’

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको ह’त्या भएको हो ।

स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ । ‘मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं ।’ उनले भने ।

‘हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।’ उनले भने ।

‘काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन्,’ उनले भने, ‘उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ ।’

उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

‘बौद्धमान (तेजबहादुरको बुबा) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुन्न र बोल्न सक्नुहुन्न ।’ उनले भने । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।

 


Last Updated on: September 7th, 2021 at 1:09 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया