शुक्रबार ०८ आश्विन २०७८

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् ।

सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताए ।

‘सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?’, नेम्वाङको भनाइ छ ।

उनले सरकारलाई महिना नपुगि जन्मिएको बच्चासँग तुलना गर्दै सरकारको लक्षण ठिक नभएको पनि बताए । सर्वोच्चको फैसलापछि सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको भन्दै उनले सरकारको नियत यसैबाट प्रस्ट भएको बताए ।

‘यो सरकार जनताले बनाएको सरकार होइन, जननिर्वाचित सरकार विस्थापित गरेर सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भएकाले होला सात महिना पनि नपुगी बच्चा जन्मियो भने हाम्रो गाँउघरतिर कस्तोकस्तो मानिन्छ, लक्षण पनि ठिक छैन भन्छौ, हो त्यस्तै छ यो सरकार’, नेम्वाङको तुलना छ ।

उनले सर्वोच्च अदालतको फैसलाले संविधानलाई कमजोर बनाएको भन्दै कानुुनको शासनको लागि लडेको पार्टी भएकाले फैसलाप्रति असहमति भएपनि फैसलालाई एमालेले कार्यान्वयन गरेको बताए ।

‘जनताले बनाएको सरकार होइन । जननिर्वाचित केपी ओलीको सरकारलाई विभिन्न कारणले विस्थापन गरेर अदालतको परमादेशले जन्माएको सरकार भएर होला सिन्को पनि भाँच्न सकेको छैन ।’

सर्वोच्च अदालतले विज्ञहरूका लागि पनि उदेकलाग्दो फैसला गरेको उनले बताए । ‘सर्वोच्च अदालतको फैसला विज्ञहरूको लागि पनि उदेकलाग्दो छ । कांग्रेस र माओवादीका सांसदलाई ह्वीप लाग्ने र अरू दलका सांसदलाई ह्वीप नलाग्ने फैसला गर्‍यो । केपी ओली फेरि सरकारमा आउँछन् कि भनेर गौडा छेक्ने गरी फैसला गरेको छ ।’

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवाको सरकारलाई आवश्यक पर्‍यो भने सय जनासम्मको सरकार बनाउने अधिकार दिएको भए हुने भन्दै व्यङ्ग्य गरेका थिए ।

‘शेरबहादुर देउवाको सरकार त चानचुने सरकार हो र ? यो सरकारले ताल पर्‍यो भने ७० जना, ८० जना र आवश्यक पर्दा सय जनासम्मको मन्त्रिपरिषद् बनाउन पाउने अधिकार अदालत दिएको भए हुन्थ्यो ।’

मनमोहन अधिकारी नेतृत्वको सरकारको बेलामा अदालतले गरेको फैसलाले प्रधानमन्त्रीय प्रणालीलाई अप्ठ्यारो पारेको र त्यो बुझ्न पाँच वर्ष समय लागेको नेम्वाङले बताएका थिए ।


Last Updated on: September 7th, 2021 at 2:16 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया