
नेपालको आयोजनामा आजबाट विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठक सुरु हुँदैछ। भर्चुअल माध्यामबाट हुने ७४औँ सम्मेलन भदौ २५ गतेसम्म चल्नेछ।
नेपालले यस सम्मेलनदेखिआगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्षका रुपमा कार्य गर्नेछ।
आजबाट सुरु हुने बैठकको तयारीबारे जानकारी दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेको थियो। सम्मेलन नेपाली समयअनुसार पौने १० बजेदेखि सुरु हुनेछ।
दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरुमा गहन छलफल गरिने छ।
यसका साथै नेपालले प्रस्ताव गरेअनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुनेछ। स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा मन्त्री स्तरीय विशेष छलफल सम्मेलनमा हुनेछ।
आपसी एकता, हातेमालो र परस्पर सहयोगले विपद् र महामारीलाइ नियन्त्रण गर्नुका साथै स्वास्थ्य सम्बन्धी विश्व, क्षेत्रीय र राष्ट्रिय स्तरमा जाहेर भएका प्रतिबद्धताहरूलाई कसरी प्रभावकारी ढंगले हासिल गर्न सकिन्छ भन्ने बारेमा छलफल हुनेछ।
सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रीय निर्देशक, दक्षिण पूर्वी एसियाका ११ वटा राष्टका स्वास्थ्य मन्त्री, वरिष्ठ स्वास्थ्य अधिकारीहरु, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरु लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ।