सोमबार ११ आश्विन २०७८

कोरोना संक्रमण जोखिमका कारण नेपालले पर्यटकलाई भिसामा कडाई गरिरहेकै बेला शरदकालीन याममा हिमाल आरोहण गर्न चाहने विदेशीको संख्या गत वर्षको दाँजोमा ह्वात्तै बढेको छ । पर्यटन विभागका अनुसार, सोमबारसम्म १ सय ६० जना विदेशीले विभागबाट शरदकालीन याम (सेम्टेम्बर, अक्टोबर र नोभेम्बर) मा हिमाल आरोहणको अनुमति लिइसकेका छन् । गत वर्ष ५८ जनाले आरोहण अनुमति लिएका थिए । यो क्रम अझै बढ्ने सक्‍ने विभागको पर्वतारोहण शाखा प्रमुख मिरा आचार्यले बताइन् । मंगलबार कञ्चनजंघा र धौलागिरि हिमाल आरोहणका लागि अनुमति मागिएको छ,उपसचिव आचार्यले भनिन, बुधबार अनुमति जारी हुन्छ होला । विभागले हालसम्म उत्तरी गोरखाको मनास्लु हिमालका लागि १ सय ५७ जनालाई अनुमति दिइसकेको छ भने ताप्लेजुङमा पर्ने कञ्चनजंघाका लागि ३ विदेशीलाई अनुमति दिएको छ । हालसम्म जारी भएका अनुमतिमा ३४ महिला छन् भने १ सय २६ पुरुष छन् । विभागले गएको मंगलबारदेखि शरदकालीन यामका लागि अनुमति दिन सुरु गरेको थियो । यो एक सातामा विभागले आरोहण अनुमति जारी गर्दै १ करोड ६९ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरिसकेको छ । शरदयाममा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । सबैभन्दा महँगो वसन्तकालीन सिजनमा सगरमाथा आरोहणमा जाने विदेशीले प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्छ । गत वर्ष सरकारले कोरोना संक्रमणका कारण होटल क्वारेन्टाइनको नियम हुँदा पनि ४९ जना विदेशी र नौ जना नेपाली गरी ५८ जनाले मात्रै शरदकालीन हिमाल आरोहण अनुमति लिएका थिए । ८ वटा आरोहण दलमा रहेर उनीहरु खुम्बु क्षेत्रको अमादब्लम र बरुणचे,उत्तरी गोरखाको मनास्लु, सिन्धुपाल्चोकको ग्याल्जेन र मनाङको हिमलुङ हिमाल आरोहण गर्न गएका थिए ।

 

यो पनि पढ्नु हाेस………………….

१० जनाको निधन, १,६४० सङ्क्रमित थपिँदा २,१६१ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको कोरोना परीक्षण गर्दा १६ सय ४० जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट ९ हजार ७६७ जना र एन्टिजेनबाट ३ हजार ६८८ जनाको परीक्षण भएको छ ।

त्यस्तै २१ सय ६१ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

यस्तै, गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना थपिएका छन् ।

 


Last Updated on: September 8th, 2021 at 5:27 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया