सोमबार ०४ आश्विन २०७८

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछिल्लो १५ वर्षयता व्यक्तिगत उपलब्धिमा सबैभन्दा अगाडि छन् । उनीहरू दुई जनाले फुटबल क्षत्रेमा उदाउँदै गरेका नवप्रतिभाहरूलाई चम्कन दिएको छैनन् भन्दा फरक नपर्ला । तथापि, फरक देशका फरक लिगमा उम्दा स्टारहरू स्थापित भइरहेकै छन् ।

जस्तै : बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, पिएसजीका किलियन एम्बाप्पे र बोरुसिया डर्टमुन्डका इयर्लिङ हालान्ड । यो वर्ष अर्थात् २०२१ मा मेस्सी र रोनाल्डोसँगै व्यक्तिगत अवार्डका लागि प्रतिस्पर्धा गर्न तयार छन्, यी खेलाडीहरू । हुन त अङ्ग्रेजी वर्ष २०२१ सकिन साढे तीन महिना बाँकी छ । अझै पनि यी पाँच खेलाडीले गोल सङ्ख्या बढाउँदै ‘गोल मेसिन’ दौडलाई थप रोमाञ्चक बनाउलान् । तथापि, यी पाँच खेलाडीमा सर्वाधिक गोलकर्ता धुरन्धर प्रतिस्पर्धा जारी छ ।

अहिले युरोपका शीर्ष पाँच लिगका खेलहरू धमाधम भइरहेका छन् । इङ्ग्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ‘ए’, जर्मनको बुन्डेसलिगा र फ्रान्सको लिग वानमा नयाँ सिजनका खेलहरू जारी छन् । त्यसबीचमा अन्तर्राष्ट्रिय खेलहरू पनि हुँदै छन् । लिग तथा अन्तर्राष्ट्रिय खेलहरू भइरहँदा पाँच खेलाडी उपाधि जित्दै गोलको सङ्ख्या बढाएर ‘गोल मेसिन’ बन्ने दाउमा छन् ।

१. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

सर्वाधिक गोलकर्ता बन्ने दौडमा अहिले सबैभन्दा अगाडि पोल्यान्डका फरवार्ड लेवान्डोस्की छन् । जसले गत जनवरीयता यो वर्ष बायर्न र पोल्यान्डका लागि ४५ गोल गरिसकेका छन् । नयाँ बुन्डेसलिगामा पनि उनले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेका छन् ।

जर्मन लिगमा उनले चार खेल खेल्दा ६ गोल गरेका छन् । ३३ वर्षका लेवान्डोस्कीले जर्मन लिगमा ‘राज’ गरिरहेका छन् भन्दा फरक नपर्ला । सन् २०१४ मा डर्टमुन्डबाट बायर्न सरुवा भएका लेवान्डोस्की गत सिजन बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता बनेका थिए । सन् २०१६–१७ को सिजनयता उनले जर्मनीको गोल्डेन बुट अरू कोही खेलाडीलाई दिएका छैनन् । अब, यो वर्ष उनी दुवैतर्फ वर्षको सर्वाधिक गोलकर्ता बन्ने दौडमा छन् ।

२. इयर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड)

नर्वेजियन स्टार हालान्ड । जसले डर्टमुन्ड र नर्वेबाट ३८ गोल गरेका छन् । २१ वर्षका युवा स्टार हालान्डले नयाँ सिजनको थालनी पनि आक्रमक तरिकाले गरेका छन् । चार खेलमा उनले पाँच गोल गरेका छन् ।

सन् २०२० मा अस्ट्रियन क्लब आरबी साल्जबर्गबाट डर्टमुन्डमा अनुबन्धित हालान्डले अघिल्लो सिजन २८ खेल खेल्दा २७ गोल र आठ असिस्ट गरेका थिए । हालान्डको उत्कृष्टता देखेर नै रियल मड्रिड उनीप्रति लोभिएको छ । यो समरमा गरेको कोसिस असफल भएपनि अर्को समर हालान्ड भित्र्याउने दौडमा रियल रहेको बताइन्छ ।

३. लियोनल मेस्सी (पिएसजी)

मेस्सी हालैमात्र ब्राजिलियन लिजेन्ड पेलेलाई उछिन्दै अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक धेरै गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बने । उनले एक सय ५३ खेल खेल्दा ७९ गोल गर्दै ७७ गोल गरेका पेलेलाई उछिने । व्यवसायिक करिअरमा भने उनी हालैमात्र बार्सिलोनाको २१ वर्षे बसाइ अन्त्य गर्दै फ्रान्सको राजधानी पेरिस बसाइँ सरे ।

मेस्सीले पिएसजीमा मात्र एक खेल खेल्न पाएका छन्, जसमा उनी गोलविहीन छन् । अब उनी पिएसजीबाट सर्वाधिक धेरै गोल गर्ने दाउमा छन् । तर अन्तर्राष्ट्रिय खेलमा भने यस वर्ष उनको नाममा ३६ गोल रह्यो । मेस्सीले स्पेनिस ला लिगामा लामो समय अरू खेलाडीलाई गोल्डेन बुट जित्ने मौका दिएनन् । राष्ट्रिय टोलीका लागि केही गर्न नसकेको भन्दै आलोचना भइरहँदा उनले कोपा अमेरिका जित्दै अर्जेन्टिनाका लागि उपाधिको खाता खोलेका थिए ।

४. किलियन एम्बाप्पे (पिएसजी)

पिएसजीका फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले यस सिजन मेस्सीभन्दा दुई गोल कम गरेका छन् । यसै समरमा भएको युरोपियन च्याम्पियनसिपमा उनी गोल गर्न असफल भएका थिए । तथापि, उनले गत जनवरीयता ३३ गोल गरेका छन् । लिग वानमा चार खेल खेल्दा उनले तीन गोल गरेका छन् ।

विश्वकै महँगा खेलाडी नेयमारका साथमा खेलिरहँदा पनि एम्बाप्पेले अघिल्ला सिजनहरूमा गोल्डेन बुट जित्दै आइरहेका थिए । सन् २०१८ मा मोनाकोबाट पिएसजी सरुवा भएका एम्बाप्पेले आफू आएयता अरू खेलाडीलाई सर्वाधिक गोलकर्ता हुन दिइरहेका छैनन् । गत वर्ष पनि उनी फ्रान्सको सर्वाधिक गोलकर्ता बनेका थिए ।

५. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

हालैमात्र युभेन्टसबाट युनाइटेड सरुवा भएका पोर्चुगिज स्ट्राइकर रोनाल्डो गोल्डेन बुट जित्ने दौडमा छन् । उनले यस वर्ष ३१ गोल गरेका छन् । १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका ३६ वर्षीय रोनाल्डोले हालैमात्र युनाइटेडबाट दोस्रो पटक डेब्यु गरेका छन् । उनको डेब्यु सानदार बनेको थियो । न्युकालसँग खेल्दै डेब्यु गरेका उनले दुई गोल गरेका थिए ।

हालैमात्र रोनाल्डो एक सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । इरानका अली दाईलाई दुई गोलले उछिन्दै कीर्तिमान बनाएका रोनाल्डोले यस वर्ष ३१ गोल गरेका छन् ।

 


Last Updated on: September 13th, 2021 at 1:14 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया