बिहिबार ०७ आश्विन २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका-९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गु’र्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्”, प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।” प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्‍याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।

‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ। आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्‍याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन्।

उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन्। ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्षजस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन्। कोठी सञ्चालककी पत्नीजस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघरसमेत झिक्न लगाइयो ।

‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्‍याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन्। आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन्।

कोठीमा पुर्‍याइएको १५ महिनापछि उनी एक दिन खाटबाट लडेर घाइते भइन्। ताराले स्कुटरमा राखेर उपचारका लागि भन्दै अस्पताल लाँदै थिइन्, उनले बीचैमा रोक्न आग्रह गरिन्। ‘धेरैचोटि आग्रह गर्दा पनि स्कुटर रोक्न नमानेपछि हाम फाल्छु भनेर धम्क्याएँ, त्यसपछि स्कुटी रोकिन्,’ उनले भनिन्, ‘त्यही मौकामा भागेर दुई दिनपछि मुम्बई पुगें ।’ महाराष्ट्रको पुणे बसपार्कमा अलपत्र परेकी उनलाई एक स्थानीय महिलाले धर्म छोरी बनाएर राखिन्।

‘दिल्लीको नारकीय ठाउँबाट उम्किन पाउँदा खुसी थिएँ, मुम्बई पुगेपछि धर्म आमाले घर (नेपाल) आउन दिनुभएन,’ उनले भनिन्, ‘आफैंले एक अस्पतालमा काम गरेर केही पैसा कमाएँ, त्यसपछि भागेर नेपाल आइपुगेकी हुँ ।’

उनलाई नेपाली बोल्न आउँदैन, अरूले बोलेको भने बुझ्छिन्। भाइको नाम याद थियो। घरको ठेगाना थाहा थियो। उनी तीजको दिन सात वर्षपछि आफ्नो घर आइपुगिन्। ‘आमा जिउँदै हुनुहुँदोरहेछ, आमालाई देखेपछि बहुत खुसी लाग्यो,’ उनले भनिन्, ‘घर पुग्दा स्वर्गमा आइपुगेजस्तो अनुभूति भयो ।’


Last Updated on: September 14th, 2021 at 4:27 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया