आइतबार ३१ आश्विन २०७८

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणाात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि जित दर्ता गरेको छ । सोमबार ओमानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दा नौ विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो । नेपाल दुई सय ३१ रनको लक्ष्यसहित ब्याटिङमा थियो ।

कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल पेभेलियन फर्किदा ब्याटिङ गर्न आएका कुशल मल्ल एक रन जोड्दै आउट भए । नेपालविरुद्ध ३३औँ ओभरमा बलिङ गरेका अमेरिकाका कप्तान सौरभ नेत्रवालकरले मल्ल आउट भएपछि उनलाई गिज्याएका थिए । कुशल मल्लको विकेट लिएपछि नेत्रवालकरले मल्ललाई लक्षित गरी चर्को स्वरमा कराएका थिए । फिल्ड अम्पायर राहुल अशेर र अहमद पख्तिनले नेत्रवालकरको उक्त ब्यवहारमा ध्यानाकर्षण जनाएको थियो ।

त्यसपछि अनुसन्धान थालेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कुशललाई गिज्याएको ठहर गर्दै कप्तान नेत्रवाल्करमाथि कारबाही गरेको छ । आइसिसीले नेत्रवालकरको उक्त ब्यवहारले मल्ललाई आक्रामक गतिविधि गर्न उक्साउने रूपमा अर्थ्याएको छ ।

नेत्रवालकरले आइसीसी आचारसंहिताको लेभल १ को उल्लङ्घन गर्दा कारबाहीमा परेको आइसिसीले जनाएको छ । आइसिसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेत्रवालकरले आइसिसीको संहिताको धारा २.५ को उल्लङ्घन गर्नुभएको छ ।’ उक्त धारामा खेलको क्रममा कुनै खेलाडीलाई आउट गर्दा आफ्नो भाषा, व्यवहार र शारीरिक हाउभाउले उक्साउने गतिविधि गर्नु रहेको छ । आइसिसीले नेत्रवालकरको अनुशासनिक रेकर्डमा एक डिमेरिट अङ्क थपिदिएको छ ।

अब नेपाल र अमेरिकाले भोलि (शुक्रबार) अपराह्न ४ः१५ बजे ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा पुनः खेल्ने छन् ।

 


Last Updated on: September 16th, 2021 at 1:57 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया