बिहिबार ३१ भाद्र २०७८

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुन ः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।”कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाले जनाएको छ । मेलौली ४६ सामुदायिक विद्यालय छन् ।

अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,“संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका हुन् ।”

यो पनि – आँखा उपचार केन्द्र सञ्चालन

मकवानपुरको वाग्मती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ । सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटाँैडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष सर्केस घलान र हेटाँैडा अस्पतालका प्रमुख डा सुनिल श्रेष्ठबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म अस्पताल कायम रहने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले दुई स्वस्थ्यकर्मीका लागि पारश्रमिक रकम वार्षिकरुपमा अनुदानस्वरुप उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्ने, वार्षिकरुपमा बजेट विनियोजन गर्नुपर्ने, आवश्यकता अनुरुपको प्राविधिक जनशक्ति उपलव्ध गराउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । आँखा केन्द्रमा आगामी तीन महिनाभित्र आँखा जाँच, चश्मा जाँच, सामान्य शल्यक्रिया र औषधिसहितको सुविधा उपलब्ध गराइ सञ्चालनमा ल्याइने हेटौँडा आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

 


Last Updated on: August 5th, 2021 at 12:53 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया