मंगलबार ११ माघ २०७८

प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयल काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।

सोही क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा८च ३१३ नं गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा गाडीसहित नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेका पाँचखाल–४ बस्ने प्रकाश सुनारलाई गाडीमा ल्याएको विभिन्न नाप साइजको चिरान १५ थान(४७.६५५ क्युफिट) काठसहित पक्राउ गरिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा भकुण्डेबेँसीबाट धुलिखेलतर्फ आइरहेको बा२०च २३०७ टाटामोबाइल र बा२०च ८७४९ महेन्द्रा बोलेरो गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध उत्तीस र सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो क्रममा पनौती नगरपालिका–४ बस्ने रामकृष्ण काफ्ले र ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका रेशम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । विभिन्न नाप साइजका चिरान काठ ४० थान (३७.५२० क्युफिट र विभिन्न नाप साइजका चिरान लिष्टी गरी १७७.५ क्युफिट गरी २०९.६३ क्युफिट) काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । नियन्त्रणमा लिइएका गाडी, काठ र पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनएको छ ।

यो पनि – कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ ।मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिनुभयो । यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पूर्वतर्फका दुई स्पान जोड्ने भाग करिब छ इन्च जति छुट्टिएका थिए । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।

तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधरी बताउनुहुन्छ । यस वर्ष जेनतेन पुल जोगाउने काम भएको जनाउँदै आगामी हिउँदमा कर्णालीको बीच भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानीय सर्पराज साउदले बताउनुभयो । यस वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षण भएको थियो । विसं २०७१ मा निर्माण भएको १३ स्पान रहेको उक्त पुलको लम्बाइ ५३१ मिटर छ ।

यो पनि – गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यो पनि – पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।

यो पनि –‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३÷७४–२७७÷७८ सम्म सेवाग्रहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उहाँले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको जनाउनुभयो ।

उहाँका अनुसार मध्यपश्चिम क्षेत्रीय हुँदै प्रदेशमा रुपान्तरण भएको यस अस्पतालले पछिल्लो समयमा सबैखाले स्वास्थ्य सेवा विस्तार गरेको छ । “अहिले हामीले अर्थोपेडिक, पेडियाट्रिक, साइक्याट्रिक, जेरियाट्रिक, पोष्ट ओपी, न्यूरो सर्जरी, इएनटीलगायत विशेषज्ञ वार्ड सेवा सुरुआत गरेका छौँ”, निर्देशक डा खड्काले भन्नुभयो, “यसमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, न्यूरोलगायत विधाका कन्सल्ट्यान्ट, विशेषज्ञ, मेडिकलसहित ६० चिकित्सक कार्यरत छन् ।”

प्रदेश अस्पतालका प्रवक्ता एवं हाडजोर्नी विशेषज्ञ डा विकास केसीले सेवाग्रहीको समस्यालाई मध्यनजर गरी समय बढाएर अस्पतालले ओपिडी सेवा बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म र नाम दर्ता ८ः०० देखि अपराह्न २ः०० बजेसम्म गरिने बताउनुभयो । उहाँले बिरामीकै हितमा आकस्मिक सेवा, सिटी स्क्यान, अल्ट्रा साउण्डलगायत सेवा प्रवाह गरिएको जनाउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँमा कार्यरत न्यूरोसर्जन सहायक प्राध्यापक डा निलम खड्काले कर्णालीको करिब २० लाख जनसङ्ख्यामा एकजना न्यूरोका चिकित्सक हुनु दुःखद् कुरा भएको बताउनुभयो । यद्यपि यस चार महिनाको अवधिमा पनि २५ जनाको टाउको, दुईको हड्डी, एक÷एक जनाको घाँटी र ढाडको शल्यक्रिया गरिएको उहाँको भनाइ थियो ।

सामाजिक सुरक्षा शाखाका प्रमुख रामप्रसाद भण्डारीले गत आव २०७७÷७८ मा कर्णाली प्रदेश अस्पतालबाट १६ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको बताउनुभयो । पछिल्लो समयमा बिमाप्रति नागरिकको आकर्षण बढेको उल्लेख गर्दै शाखा प्रमुख भण्डारीले स्वास्थ्य बिमाबाट ४० प्रतिशत नागरिक प्रदेश अस्पतालबाट लाभान्वित भएको जनाउनुभयो ।

 


Last Updated on: September 22nd, 2021 at 12:58 pm
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया