बुधबार १० कार्तिक २०७८

काठमाडौं — काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’

उनले यति के भनेकी थिइन्, यात्रुको एकसाथ आवाज आयो, ‘यो जनकपुर होइन ! पोखरा हो, पोखरा !’ उनले ‘बुद्ध एयरलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद’ भन्नै पाइनन् । धावनमार्गमा गुडिरहेको जहाजभित्रैबाट उनले ककपिटमा रहेकी क्याप्टेन रीता प्याकुरेललाई यात्रुको प्रतिवाद रिपोर्टिङ गरिन् । एयरहोस्टेस मानन्धरको सूचनापछि क्याप्टेन प्याकुरेल र को–पाइलट सुरेश कटवालले त्यतिबेला मात्रै थाहा पाए, जनकपुरका यात्रु पोखरा ल्याइएको । त्यतिन्जेलमा काठमाडौंबाट उडेको २५ मिनेट घर्किसकेको थियो । यता, काठमाडौं स्टेसनमा बुद्ध एयरले त्यतिबेला मात्रै थाहा पायो, जब पोखराकै लागि जान तयार भएको अर्को जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पोखरा उडानका लागि अनुमति माग्यो । बुद्धले दैनिक काठमाडौं–पोखरा ७ वटा उडान गर्छ । अन्तिम उडानको फ्लाइट नम्बर यूफोर–६०७ हुन्छ । ‘यो उडान नम्बरको जहाज त अघि नै उडेर पोखरा पुगिसक्यो,’ टावरबाट एटीसीले अर्को जहाज उडाउन तयार भएका क्याप्टेन मनोज केसीको टिमलाई जानकारी गरायो ।

उता पोखरामा होहल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो । माइक यांकी जहाजले पोखराबाटै जनकपुर उड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो । जहाजले पुनः यात्रु तथा कार्गोको तौल समेटिएको लोडसिट, फ्लाइट प्लान पोखरा विमानस्थललाई बुझाउनुपर्ने भयो । पोखरास्थित बुद्ध एयरको स्टेसनका कर्मचारीले इन्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो । यो अवधिमा केही यात्रुले ककपिटको पछाडितिर फोटो सेसन गरे । काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो । पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अवतरण गराइन् ।

सम्बद्ध अधिकारीहरूका अनुसार, शुक्रबार दिउँसो विराटनगर पुगेर फर्केकी क्याप्टेन प्याकुरेल, को–पाइलट कटवाल, एयरहोस्टेस मानन्धर र मेनुका गुरुङको उड्नुपर्ने दोस्रो गन्तव्य पोखरा नै थियो । तर, बिहानैदेखि तराईका विमानस्थलमा देखिएको मौसमी खराबीका कारण उडान तालिका प्रभावित भइरहेका थिए । प्रायः समयमै जहाज उड्न नसकेपछि समय धकेलिँदै–धकेलिँदै पछि सरे ।

बुद्धले जनकपुरका लागि तीनवटा उडान तालिका राखेकामा दिउँसो २ बजेको उडान समयमै भएन । २ घण्टाअघि नै विमानस्थलमा पुगेका यात्रुको दबाब विमानस्थलस्थित बुद्धको मार्केटिङ र ग्राउन्ड अपरेसनका कर्मचारी झेलिरहेका थिए । जनकपुर जाने यात्रुहरू सबै आइसकेकाले मार्केटिङले पोखराको उडानका लागि तयार रहेकी क्याप्टेन प्याकुरेललाई पठाउन तालिका ‘रिभाइज्ड’ गर्‍यो । यात्रुको उपस्थिति तथा जहाजको उपलब्धता र मौसममा हुने गडबडीका कारण वायुसेवाहरूले यात्रुलाई पूर्वजानकारी नगराई तालिका फेरबदल गर्न सक्छन् । तर, यसबारे उनीहरूको ग्राउन्डदेखि ककपिटसम्मको प्रणालीमा समयमै खबर हुन सकेन । त्यसैले पोखराका लागि तोकिएको जहाजमा जनकपुरका यात्रु परे ।

काठमाडौंबाट टेकअफ गर्नेबित्तिकै उडानलाई पोखरा नभई जनकपुरतर्फ मोड्न सकिन्थ्यो । तर, एयरहोस्टेसको दिमागमा जनकपुर जाँदै छौं भन्ने थियो भने ककपिटमा रहेका पाइलट पोखराका लागि नै उडिरहेका थिए । तर, उनीहरूलाई दिइने कागजातमा जनकपुर लेखिएको थियो । जहाज टेकअफ गर्नेबित्तिकै एयरहोस्टेसले उडानको समय, उचाइ र गन्तव्यमा पुग्ने समयबारे ब्रिफ गर्छन् । शुक्रबार एयरहोस्टेस मानन्धरले पनि बोर्डमा रहेका यात्रुलाई जनकपुर जान लागेको र उडान समय २५ मिनेट नै भनिन् । जहाज १० हजार फिट नपुग्दासम्म पछाडि बोर्डमा एयरहोस्टेसले गर्ने ब्रिफ तथा यात्रुको हल्ला ककपिटमा सुनिँदैन । पाइलटले पछाडिको संवादले डिस्टर्भ गर्ने भएकाले नसुनिने बनाएका हुन्छन् । यसलाई ‘स्टेरायल ककपिट रुल’ भनिन्छ । यही नियमका कारण शुक्रबार बुद्धका ती पाइलटले एयरहोस्टेसले भनेको ‘जनकपुरसम्मको उडान समय २५ मिनेट हुनेछ’ भन्ने सुन्नै पाएनन् । काठमाडौंबाट पोखरा र जनकपुर दुवै एटीआर विमानमा २५–२५ मिनेटमै पुगिने गन्तव्य हुन् । उडान समय पनि उस्तैउस्तै भएकाले हेक्का नभएको हुन सक्छ ।

उडिरहेको जहाजमा एयरहोस्टेसले जाने गन्तव्यको तापक्रम क्याप्टेनसँग सोधेर यात्रुलाई भन्नुपर्छ । मानन्धरले तापक्रम मागिन् । ककपिटले २२ डिग्री सेल्सियस भन्यो । सबैभन्दा पहिला काठमाडौंको धावनमार्गमै थाहा हुनुपर्ने थियो । त्यहाँ यात्रु राखिसकेपछि क्याप्टेनलाई मार्केटिङका कर्मचारीले यात्रु विवरण र उडान तालिका बुझाउँछन् । त्यहाँ कहाँको उडान हो भनेर लेखिएको हुन्छ । तर, शुक्रबार क्याप्टेन प्याकुरेलले हस्ताक्षर गरिन् । एक प्रति ककपिटमा राखिन्, अर्को प्रति झ्यालबाटै ग्राउन्डमा रहेका कर्मचारीलाई बुझाइदिइन् । यदि उनले केही सेकेन्ड लोडसिट पढेको भए पनि जानकारी मिल्थ्यो । तर, उनले उडान हुनुअघि नै आन्तरिक टर्मिनलमा रहेको बुद्धको अपरेसन कन्ट्रोल सेन्टरबाट आफ्नो उड्नुपर्ने पोखरा नै भएको हेरफेर नभएको सूचना लिइसकेकी थिइन् । केही मिनेटमै भएको फेरबदलबारे उनलाई जानकारी भएन । बुद्ध एयरले यो घटनालाई आफ्ना विभागीय कर्मचारीहरूबीचको ‘मिसकम्युनिकेसन’ भनेको छ । एक अधिकारीका अनुसार, शुक्रबार यो घटनामा जोडिएका सबै कर्मचारीलाई आइतबार छुट्टै ब्रिफिङ राखिएको छ । घटनाबारे आन्तरिक छानबिन पनि सुरु गरिएको बुद्धले जनाएको छ । छानबिनपछि प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने ती अधिकारीले बताए । बुद्धले यस्ता घटना हुन नदिन तत्काल नयाँ नियम लागू गर्ने जनाएको छ ।

एक उड्डयनकर्मीका अनुसार, एक दशकअघि बुद्धकै १९ सिट क्षमताको विराटनगर जानुपर्ने बिचक्राफ्ट १९०० डी विमान दुई जना पाइलटको मनमुटावका कारण भैरहवामा अवतरण भएको थियो । त्यस्तै, बैंककबाट काठमाडौं आएको थाई एयरको विमानले दशकअघि काठमाडौंका यात्रुको लगेज बैंककमै छाडेर लन्डन जाने यात्रुको लगेज बोकेर काठमाडौं आएको थियो ।

 


Last Updated on: September 27th, 2021 at 11:42 am
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया