सोमबार ११ आश्विन २०७८

काठमाडौं। नियम कानुनको पालना आम सर्वसाधारणले अनिवार्य रुपमा गर्नैपर्ने तर पहुँचवाला व्यक्तिले नियम तोडे पनि प्रशासन र प्रहरीले कारवाही नगर्ने गरेको गुनासो प्रशस्तै सुनिन्छ । शक्तिशाली र पहुँचवाला व्यक्तिले नियम तोड्ने गरेको आरोपमा बीच एक जना मन्त्री चर्चामा छन् । नेपालमा जस्तै राजनीतिक संस्कार भएको भारतमा एक मन्त्रीले आफ्नो गाडीले नियम तोडेको थाहा पाएपछि आफैंले ट्राफिक प्रहरी बोलाए र जरिवानाको रसिद काट्न लगाए र आफैंले जरिवाना तिरेपछि यसको चर्चा बढेको हो ।

यी मन्त्री मध्य प्रदेशका हुन् । प्रदेशको शहडोल जिल्लाका प्रभारी रहेका मन्त्री राम खेलावन पटेल २ दिने कार्यक्रमका लागि गृहजिल्ला पुगेका थिए । त्यहाँ उनलाई जिल्ला प्रशासनले गाडी उपलब्ध गरायो । प्रशासनले दिएको गागीको सिसा कालो फिल्म लगाएर कालो पारिएको थियो । भारतमा नियमअनुसार विशेष अनुमति प्राप्त व्यक्ति बाहेक अरुले गाडीमा कालो सिसा प्रयोग गर्न पाइँदैन ।

नवभारत टाइम्सका अनुसार मन्त्री पटेलले आफूलाई प्रशासनले दिएको गाडीमा कालो सिसा देखेपछि असन्तुष्टि जनाउँदै तत्कालै डिएसपी हेडक्वार्टरलाई आफ्नो गाडीले नियम उल्लंघन गरेकोले कारवाही गर्न भने । गाडीबाट ओर्लिएर उनले स्वयं जरिवाना तिरे । यातायात सुवेदार अभिवन रायले उनको जरिवानाको रसिद काटे । त्यसपछि त्यो गाडीको सिसाबाट कालो फिल्म हटाइयो । यो घटना त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।


Last Updated on: August 7th, 2021 at 2:20 pm
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया