
इन्डियन प्रिमियर लिग आइपीएलले रातारात क्रिकेटरलाई करोडपति बनाएको धेरै उदाहरण छन् । चाहे त्यो भारतको होस् या अन्य देशको, यसअघि अफगानिस्तानका राशिद खानलाई रातारात करोडपति बनाएको आइपीएलले भर्खरै मात्र भारतकै युवा खेलाडी यशस्वी जयसवाललाई करोडपति बनाएको थियो ।
केही समय अगाडि मुम्बईका युवा क्रिकेटर यशस्वी जयसवाल २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । आइपिएल २०२० को सिजनका लागि यशस्वी जयसवाललाई राजस्थान रोयल्सले २ करोड ४० लाख भारुमा आबद्ध गरेको थियो ।
२० लाख भारु न्यूनतम मूल्य भएका यशस्वी जयसवाललाई शुरुमा किंग्स ११ पञ्जावले ८० लाख भारुको प्रस्ताव गर्यो । त्यसलगत्तै कोलकता नाइट राइडर्सले जैसवाललाई १ करोड ९० लाख भारु दिने बोली लगाएको थियो ।
कोलकतापछि राजस्थान रोयल्सले २ करोड भारुको प्रस्ताव गरेको थियो । अन्तिममा राजस्थान रोयल्सले २ करोड ४० लाख भारुमा उनलाई आवद्ध गरेको हो ।
मुम्बईका ब्याट्सम्यान यशस्वी जयसवालले प्रतिष्ठित विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरेका थिए । उत्तर प्रदेशको भदोहीमा जन्मिएका यशस्वीले संघर्षपूर्ण यात्राबाट क्रिकेटमा प्रवेश गरेका हुन् ।
त्यसअघि उनी एउटा डेरी पसलमा बस्ने गर्थे । तर, त्यहाँबाट उनलाई हटाइएपछि उनले टेन्टको सहारा लिएका थिए । ११ वर्षको उमेरमा क्रिकेट खेल्ने दृढइच्छा शक्ति राखेका यशस्वी जयसवाल ६ वर्षको फरकमा आइपीएलमा छनोट भएका थिए ।
उत्तर प्रदेश भाडोही घर भएका यशस्वी जयसवालका बुवाले एउटा सानो पसल चलाउँछन्, जसमा उनले पानीपुरी लगायत सामग्री बिक्री गर्थे ।
परिवारको कान्छो छोरा यशस्वीले मुम्बईमा क्रिकेट खेल्न जाने निर्णयमा पनि उनको बुवाले कुनै आपत्ति जनाएनन् । दिनहुँ खान पनि कठिन हुने आर्थिक अवस्था हरेको उनको परिवारले उनलाई मुम्बईमा जान राजी गरेपछि उनको क्रिकेटको सपना शुरु भएको थियो ।
त्यतिबेला ११ वर्षका उनी आफ्ना काकासँग बस्थे। आर्थिक रुपमा पनि निकै कमजोर भएकाले उनलाई खानका लागि केहिले काहि उनको बुवाले पैसा पठाउने गर्थे, तर पर्याप्त थिएन ।
आफ्नो पकेट खर्चका लागि उनी कहिले काहि पानीपुरी बेच्ने गर्ने, त्यो पनि अजाद मैदानमा रामलिला लागेका बेला ठेलामा पानी पुरी बिक्री गर्थे ।
उनले यस्तो दिनहरू पनि भोगेका छन्, जहाँ खाली पेट सुतेका छन्, उनी बस्ने टेन्टमा रहेका अरु व्यक्तिहरू झगडा गर्ने, त्यसमा उनले पनि कतिपटक चोट पनि खाएका छन् ।
तिनीहरूका लागि उनले खाना पकाइदिनु पर्थ्यो, यदि कुनै दिन ढिला भयो भने उनले सुत्न पाउँदैनथिए । संघर्षबाट क्रिकेटर बनेका उनी लिस्ट एको खेलमा कम उमेरमा दोहोरो शतक प्रहार गर्ने क्रिकेटर हुन् ।
उनले १७ वर्ष २ सय ९२ दिन उमेरमा दोहोरो शतक प्रहार गरेका थिए । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका एलन बेरोकको नाममा थियो ।
प्रतिक्रिया