बुधबार १० कार्तिक २०७८

सात महिनाकी गर्भवती कालिका खड्कालाई आफ्नै ज्यान धान्न धौधौ थियो । जंगलमा बाख्रा चराउँदै गरेकी उनका अगाडि शनिबार एक्कासि दुई–दुईवटा पाटे बाघ आएर तेर्सिए । कहिल्यै रूख नचढेकी उनी सकीनसकी रूख चढेर ज्यान जोगाइन् । उनीसँगै गोठाला गएका ६० वर्षीय सेतु ओलीले पहिला कालिकालाई रूख चढ्न सघाए । अनि, आफ्नो ज्यान जोगाउन अर्को रूखमा चढेको बताए ।

बाख्रा र भैंसीको बथान बिथोलिरहेको बाघलाई उनीहरू रूखमै बसेर हेरिरहे । अलि पर भैंसी चराउँदै गरेकी २८ वर्षीया हीरा खड्का पनि बाघदेखि जोगिन उस्तै संघर्ष गरिरहेकी थिइन् । उनको एउटा खुट्टामा समस्या भएकाले दह्रोसँग टेक्न भर छैन । निर्धक्क दौडधुप गर्न सक्दिनन् । बाँच्नका लागि संघर्ष भनेजस्तै उनी अपाहिज खुट्टाकै भरमा रूख चढेर बाघको आ’क्रमणबाट बच्न सफल भएको सुनाइन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित गाभरका बासिन्दाले पछिल्लो समय यसरी नै बाघ देख्दै आएका छन् । एक महिनाअघि बाघको आ,क्रमणबाट गाउँवासीको मृ’त्यु भएको घटना ताजै छ । जं’गल नगई गुजारा चल्दैन । यहाँका अधिकांश बासिन्दा गोठाला गरेर जीवन चलाउँछन् । यद्यपि, जंगल र जीवन उस्तै छ उनीहरूका लागि । ‘पानी परिरहेको थियो,’ कालिकाले शनिबार गोठाला गएका बेलाको घटना सम्झिँदै भनिन्, ‘भुइँमा बाघले बाख्रा र भैंसी लखेटिरह्यो, हामी थरथरी काप्दै रूखबाट हेरिरह्यौं । चिच्यायौं, करायौं ।’ घस्रिँदै रूख चढ्दाको दुखाइ कालिकाले भोलिपल्ट मात्रै महसुस गरेको सुनाइन् । ग’र्भको बच्चा स्वस्थ छ कि छैन उनलाई थाहा छैन । ‘आज कसोकसो पेट चस्किरहेछ । यद्यपि, बाघको आहारा हुनबाट आफू र गर्भको बच्चालाई बचाउन सकेकामा आफूलाई भाग्यमानी सम्झिन्छु,’ उनले भनिन् ।

हीराले भने एक घण्टा रूखमै बाघको चुरीफुरी देख्दा अब बाँच्ने अन्तिम क्षण आएको अनुभूति गरेको बताइन् । ‘भैंसी चराउँदै थिए, पछाडिबाट आयो,’ उनले भनिन्, ‘कहिल्यै रूख नचढेकी म खै कसरी चढें, थाहै छैन ।’ उनका अनुसार शनिबार दिउँसो १२ बजेतिर बाघ आएको थियो । तीन जना गोठाला रूखमै आत्तिएको देखेर जंगलमा हात्ती चराउन पुगेका माउतेले उनीहरूको उद्धार गरी घरसम्म पुर्‍याएको हीराले सुनाइन् ।

जंगलको छेउमै रहेको बस्ती हो, गाभर । यहाँका धेरैजसो महिला खेती किसानी गरेर जीविकोपार्जन गर्छन् । गोठाला जानेमा पनि महिला नै बढी छन् । निकुञ्जले जंगल नजाउ भन्छ । तर, उनीहरू जंगल नगई घर खर्च नचल्ने दुखेसो पोख्छन् । २३ वर्षदेखि गाभरमा बस्दै आएका सेतुले गोठाला गर्न जंगल नगई नहुने बताए । ‘एकातिर निकुञ्जले जंगल गएको भन्दै गाली गर्छ, अर्कोतिर बाघले तर्साउँछ,’ उनले भने, ‘हामी कहाँ जाने ? घरमै बाख्रा र मान्छे खान आउँछ बाघ !’


Last Updated on: October 4th, 2021 at 12:05 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया