बिहिबार ०७ आश्विन २०७८

सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४÷४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् ।

अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय जान्छन् । घरबाट विद्यालय पुग्न पुर्जासँगै ५ वर्षीय मेञ्जु पुन र खुशी सुनारलाई कैशाल माविमा पुग्न करिब दुई घण्टा लाग्छ ।

गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हँुदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन् ।

गाउँ नजीक रहेको सुनारी आधारभूत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय युवा जगत गर्वुजाले बताए । यस्तै बाध्यतामा छन्, रघुगङ्गा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्यालको ।

छन्त्याललगायत रायखोरकी सुस्मा शेरपुञ्जा, उदिन रोका, विना शेरपुञ्जा पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । “कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्”, स्थानीयवासी जगत गर्बुजाले भने, “उनीहरु पैदल हिँडेर स्कुल ओहोर–दोहोर गर्न बाध्य छन् ।” गर्वुजाका अनुसार उकालो बाटो र जङ्गलका कारण बालबालिकालाई जङ्गली जनावरको समेत खतरा रहने गर्छ ।

गाउँ आसपासबाट दैनिक ४० विद्यार्थीलाई बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाइ छ । “घर आयो थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निन्द्रा लाग्छ”, अमर माविमा कक्षा ९ मा अध्ययनरत कमल छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसँग पढ्ने समय नै नहुने गुनासो गरे ।

विद्यालयमा करिब ३५÷४० विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताए ।

त्यस्तै मङ्गला गाउँपालिकाको मङ्गला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिब डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको सो विद्यालयले जनाएको छ । केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरे पनि अधिकांश विद्यार्थी पैदलमार्ग हुँदै विद्यालयमा पुग्ने गरेका छन् ।

“उकालो बाटोमा निकै थकानका साथ पुग्नुपर्दा पठनपाठनमा समेत असर परेको छ”, मङ्गला माविका कक्षा ६ मा अध्ययनरत बिमल पुर्जाले भने, “बिहानमा किताब हेर्न पाइँदैन ।”

उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको व्यवस्था भएमा सहज हुने बताए । कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाइ छ ।[][]


Last Updated on: August 8th, 2021 at 2:02 pm
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया