शुक्रबार ०८ आश्विन २०७८

जनकपुरधाम । कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम नै गर्छन् भन्ने हुँदैन । कोही कोही कर्मचारी आराम गर्न र सुत्नकै लागि कार्यालय जान्छन् । माथिको तस्बिरले यो पुष्टि गरेको छ ।

तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो । अनि त्यो सरकारी अड्डा हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा।

आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए । उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहेका थिए । उनी हुन् कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।

घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए ।

कार्यालयका अन्य कोठाहरू पनि खाली थिए । कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए ।

यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो ।

उनले कार्यालयको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालयमा अनुपस्थित थिए ।-enewsbureau


Last Updated on: August 8th, 2021 at 4:30 pm
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया