मंगलबार ०३ जेठ २०७९

रजनी रेग्मी
शाखा अधिकृत,घरेलु तथा साना उद्योग कार्यालय काठमाडौ

लोकसेवा प्रवेश : जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु । सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन ।

परिवारमा निजामती सेवाको माहोल पनि भएको भएर होला मलाई यसप्रति लगाव थियो । निजामती सेवाको गरिमा र सम्मानप्रति म सधैँ उत्साहित थिएँ । यसमा प्रवेश गरेर आफ्नो पेशागत विकास तथा समाज र देशका लागि योगदान दिन सकिन्छ भन्ने बोध गरेको थिएँ ।

पत्रकारिताको अध्ययन सहयोगी बन्यो : म बाल्यकालदेखि नै कुनै पनि नयाँ विषयवस्तुप्रति जिज्ञासा राख्थेँ । आफू जन्मेको समाजका बारेमा जानकारी राख्नुपर्छ भन्ने लाग्थ्यो । पत्रकारिता विषय पढेकाले पत्रकारिताका अवधारणाले मलाई धेरै सहयोग गर्‍यो । कुनै पनि विषयका आयाम खोतल्न सहयोग गर्‍यो । जस्तो पत्रकारितामा ‘पाँच–डब्लु, एक एच’ को अवधारणा छ । यसले कुनै पनि घटना के, कहाँ, कहिले, किन, को र कसरी भयो भन्ने अवधारणा दिन्छ ।

२२ वर्षमा नाम निकालेँ : मैले पहिलोपटक २२ वर्षको उमेरमा लोकसेवाको परीक्षा दिएकी थिएँ । त्यसको एक वर्षपछि नाम निकालेँ । धेरैले कम उमेरमै नाम निकालेको भन्थे । तर, मलाई लाग्थ्यो, उमेर भनेको अंक न हो १ आफ्नो क्षमता र सोच भयो भने उमेरले छेक्ने भन्ने हुँदैन जस्तो लाग्छ । सानै उमेरमा निजामती सेवामा प्रवेश गर्ने युवाहरूमा निजामती सेवाप्रति एक किसिमको अपनत्व र लगाव हुन्छ जस्तो लाग्छ ।

विषयप्रतिको धारणा स्पष्ट हुनु अतिआवश्यक हुन्छ । मेरो अनुभवमा लोकसेवा आयोगको तयारी गर्दा लोकसेवाको ‘गाइड बुक’ मा जे छ त्यही लेख्न खोज्नुभन्दा पनि विषयप्रति आफ्नो बुझाइ र धारणा स्पष्ट बनाउन जरुरी हुन्छ । त्यसको आधारमा ठोस तथ्यांक समावेश गर्दा मौलिक पनि हुने र तथ्यमा आधारित उत्तर पनि हुने हुन्छ ।

आफैँ शिक्षक, विद्यार्थी पनि आफू नै भएँ : कुनै पनि विषयभित्र प्रवेश गर्नुपूर्व त्यस विषयप्रति आफूले बुझेको, जानेको, विषयको चित्रण गर्थेँ । आफैँ शिक्षक र विद्यार्थी पनि आफैँ भएर आफैँमा अभ्यास गर्थेँ ।
कुनै पनि विषयमा आफ्नो मौलिक धारणा हुन आवश्यक हुन्छ । आफ्नो एक किसिमको बुझाइ भएपछि मात्र म त्यस विषयबारे गहन अध्यान गर्थेँ ।

पुस्तकमा मात्र कहिल्यै सीमित भइनँ : मैले जति पेपरको परीक्षा दिनुपर्ने थियो, हरेक पेपरका लागि एउटा मात्र ‘रिफरेन्स’ किताब पढेँ धेरै पढ्ने तर थोरै बुझ्ने भन्दा पनि थोरै पढ्ने धेरै बुझ्नुपर्छ भन्ने मेरो धारणा र बुझाइ छ ।

हरेक दिन पत्रपत्रिकाको सम्पादकीय तथा विज्ञका लेखहरू पढेर टिपोट गर्थें । इन्टरनेटलाई उपयोग गरेँ । मैले लोकसेवा तयारी गर्दा ५० प्रतिशत जानकारी र अध्ययन किताब र बाँकी ५० प्रतिशत इन्टरनेटबाट गरेँ । अर्थात् किताब र इन्टरनेटबाट बराबर अध्ययन गरेँ ।

गीत र कवितामा सूत्र बनाएर पढेँ : सामान्यज्ञान आफैँमा बृहत् हुन्छ । सयौं मिति, स्थान, भूगोल, इतिहास इत्यादि सम्झनु त्यति सहज छैन । मैले हरेक शीर्षकको एउटा गीत वा कविता बनाउथेँ र त्यही गीतरकवितामा मिति, स्थान, इतिहास, भूगोल आदि समावेश गर्थेँ । परीक्षाभन्दा अघि अध्ययनको पुनरावलोकनका लागि त्यस्तो सिर्जनात्मकताले सहयोग गथ्र्यो ।

समय थोरै हुँदा समय व्यवस्थापनबारे सिकेँ : तयारी कक्षा सुरु हुनुभन्दा ३–४ महिनाअघि नै मैले लोकसेवाको फाराम भरेँ । म मानसिक रूपले तयार थिएँ, मैले समय व्यवस्थापन गर्न सकिन भने मलाई ‘कोर्स कभरेज’ पनि गाह्रो हुन्थ्यो र त्यसले मलाई समय व्यवस्थापनको तनाव हुन्थ्यो । प्रत्येक दिन समयतालिका बनाएर पढेँ । लेखेर बढी अभ्यास गरेँ ।

चातुर्आयामिक सूत्रको उपयोग : अधिकृतस्तरमा कुनै पनि विषयमा सतही ज्ञानभन्दा पनि केही विश्लेष्णात्मक सीप चाहिन्छ । तसर्थ प्रत्येक शीर्षकलाई चार आयामबाट बुझ्नुपर्ने हुन्छ । यो मूल मन्त्र मैले लोकसेवाका विज्ञहरूबाट सुनेँ, र उपयोग गरेँ । यो मेरा लागि निकै उपयोगी बन्यो ।

राजनीतिक आयाम
आर्थिक आयाम
सामाजिक आयाम
वातावरणीय आयाम

पढाइको यो सुत्र मेरा लागि अन्तर्वार्तासम्म उपयोगी बन्यो
प्रभावकारी तयारी : लोकसेवा परीक्षा दिने क्रममा एउटा घटना घट्यो । यो मलाई पछि एउटा पाठ पनि बन्यो । प्रथम पत्रमा परीक्षाको समय सीमित गरिएको हुन्छ । परीक्षा हलभित्र समयमा प्रवेश गरेर त्यहाँको माहोल बुझेर तनावरहित भएर परीक्षा दिनुपर्ने हुन्छ । तर, म परीक्षा सुरु भएको १० मिनेटपछि परीक्षाहल पुगेँ । परीक्षा राम्रै भयो, तर, अझै समयमा पुग्न पाएको भए तनावरहित भएर लेख्न सकिन्थ्यो भने लाग्यो । यो घटना मेरा लागि जीवनोपयोगी सिकाइ भयो ।

लोकसेवा आयोग तयारी ‘स्मार्ट’ र प्रभावकारी हुनुपर्छ । कति समय दिनेभन्दा पनि समयलाई कसरी उपयोग गर्ने भन्ने हो । परीक्षा हलमा बस्दा आफूसँग भएको ज्ञानलाई निर्धारित समयमा उतार्ने गरी तयारी गर्नुपर्छ । परीक्षा उत्तीर्ण गर्ने विश्वव्यापी कुनै सूत्र छैन । सबैको आफ्नो शैली हुन्छ, तर जसरी तयारी गरे पनि मौलिक, तथ्यमा आधारित र अवधारणामा स्पष्ट हुनुपर्छ ।

Last Updated on: October 7th, 2021 at 9:55 am
७९ पटक हेरिएको
तपाईको प्रतिक्रिया


Last Updated on: October 8th, 2021 at 4:43 pm
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया