सोमबार ०३ माघ २०७८

छोरी जन्मिएदेखि चितवनकी जानकी क्षेत्रीको खुसीको सीमा छैन। हरेक दिन तीन महिने छोरीसँग फोटो खिच्छिन्, टिकटक बनाउँछिन् र उनकै स्याहार सुसारमा समय बिताउँछिन्।

व्यस्तताकै कारण क्षेत्रीको पढाइ छुट्यो, चाडपर्वमा पहिलेजस्तो जमघट हुन छोड्यो, जागिर बाँकी रहेन, घुमघाम ठप्प भयो। तर मातृत्वको सुखद अनुभूतिहरूका अगाडि ती समस्या उनलाई साना लागे।

एक वर्षअघिसम्म उनलाई आफू “कहिल्यै आमा बन्न सक्दिनँ कि?” भन्ने प्रश्नले पिरोल्थ्यो। किनकि उनी क्यान्सरको बिरामी थिइन्। स्तनको गिर्खालाई सात वर्षअघि नै काटेर फाले पनि उपचार र औषधि जारी थियो।

२०७७ सालमा उनको औषधि सेवन रोकियो। उनी गर्भवती भइन्। खुसी चुलियो। तर स्तन क्यान्सरपछि भोगेको आरोह र अवरोहले गहिरो असर पार्‍यो।

कहिलेकाहीँ छोरी बेस्मारी रुँदा काखमा राख्छिन्। दाहिने स्तनबाट दूध खुवाउँछिन्। स्तनपान गराउँदा कहिलेकाहीँ भोक नमेटिएर छोरी एकोहोरो रुन्छिन्। क्षेत्रीले चाहेर पनि देब्रे स्तनलाई छोरीको ओठसम्म पुर्‍याउन सक्दिनन्। त्यस्तो बेलामा छोरी भोकै परिन् कि भन्ने चिन्ताले उनलाई निकै पिरोल्छ।

क्यान्सर फाल्नका लागि स्तनको आधाभन्दा बढी भाग काट्नै पर्छ भन्ने सोचेकी थिइनन् जानकी क्षेत्रीले। शल्यक्रियापश्चात् जब होसमा आइन्, तब पो उनलाई आफ्नै शरीर अपूरो महसुस भयो। रोग काटेर फाल्दा पनि मन हलुका हुनुको साटो गह्रौँ महसुस भएको उनले सुनाइन्।

“म रोगमुक्त त भएँ तर चिन्तामुक्त भइनँ। त्यति बेला मेरो मनमा एउटै प्रश्न खेलिरह्यो। हिम्मत गरेर डाक्टरलाई सोधेको थिएँ – अब म आमा बन्न सक्छु त?”

चिकित्सकले उनलाई भनेका थिए – “नियमित निरीक्षणमा रहे सन्तान जन्माउन सम्भव छ।”

‘स्तन क्यान्सर हुने मेरो उमेर भएकै छैन भन्ने ठानेकी थिएँ’
‘कर्णालीका महिलामा क्यान्सरको जोखिम’
उनले थाहा पाइन् कि केही वर्ष नियमित औषधि खानु पर्छ र त्यस अवधिभर गर्भ रहँदैन।

“मलाई मातृत्व भोग्नु थियो। क्यान्सर पछिको जीवनमा आमा बन्ने इच्छा झनै तीव्र भएको थियो। तर रोग लागेपछि औषधि पनि खानै पर्‍यो,” बोल्दाबोल्दै उनी रोकिइन्।

एक छिनको मौनता तोड्दै प्रश्नबाट कुरा थालिन्, “आखिर सबै चोट औषधिले मात्र कहाँ निको हुँदो रहेछ र?”

किमोथेरापी सुरु भएपछि उनको कपाल झर्दै गए। रेडियोथेरापीका कारण छालाको रङ समेत फेरिएको थियो। शरीरमा ऊर्जा पहिलेजस्तो बाँकी थिएन। यी परिवर्तनहरू अपेक्षित थिएनन्। उस्तै अप्रत्याशित बन्दै गयो उनको दैनिकी। एक्लोपनले गाँज्न थाल्यो। मन भुलाउन खोज्थिन् तर मन भुलिसक्दा शरीर पनि गल्थ्यो।

जानकी क्षेत्री
तस्बिर स्रोत,JANAKI CHHETRI
“क्यान्सर हो भन्ने थाहा पाउँदा समेत एक्लै अस्पताल पुगेको म क्यान्सर फालेपछि झन् कमजोर बन्दै गएँ। त्यो असर स्वाभाविक थियो तर असरलाई नै जित्न दिने पक्षमा म थिइनँ।”

आत्मबल जुटाएर जानकीले धरमराएको आफ्नो पढाइलाई निरन्तरता दिइन्। स्नातक तेस्रो वर्षको परीक्षा दिन बाँकी थियो, त्यो दिइन् र उत्तीर्ण भइन्।

स्नातकोत्तरमा अङ्ग्रेजी साहित्य पढ्न भर्ना भइन्। काम खोजिन्। जिम्मेवारी र व्यस्तताबीच भुल्न थालिन्। तर रित्तोपन मेटिन सकेन।

Presentational grey line
आफन्त भने प्रश्न गर्थे – “रोगी मान्छेले बच्चा स्याहार्न सक्छ्यौ त?”

उनले बहिनी छोरा स्याहार्न थालिन्।

भोगाइ र अनुभवले बुझाउँदै लग्यो – “क्यान्सर हुनु केही गर्नै नसक्ने हुनु भने होइन रहेछ। अनि आमा हुनु भनेको दूध खुवाउनु मात्र होइन रहेछ।”

“आमा हुनु भनेको त बच्चासँगको संवेदना जोडिनु रहेछ। उसका साना हरकतहरूमा हाँस्नु अनि सानै चोटहरूमा आफूलाई पनि दुख्नु रहेछ,” उनी भन्छिन्।

“बहिनीको छोरा मसँग बस्न थालेदेखि रित्तोपन महसुस हुन छाड्यो। छोरी पनि जन्मिएपछि पूर्ण महसुस गरेको छु।”

क्षेत्रीका लागि खुसी हुनु नै पूर्ण हुनु हो। त्यसैले शरीरको एउटा अङ्ग नहुनुलाई उनी दुःखी हुनुको बहाना बनाउँदिनन्।

उनी भन्छिन्,”क्यान्सर हुनु जीवनको अन्त्य हुनु होइन। जीवनलाई फरक कोणबाट हेर्नु र फरक ढङ्गले बाँच्नु रहेछ। म त्यही फरकपनमा रमाइरहेकी छु।”

Presentational grey line
क्षेत्रीको चिन्ता, मातृत्वको रहर र प्रजनन स्वास्थ्यमा आउन सक्ने समस्यालाई क्यान्सर पीडित हरेक महिलाको समस्याका रूपमा व्याख्या गर्छन् भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ रोशन प्रजापति।

“औषधि सेवन गरिरहँदा पनि सन्तान जन्माउनु सम्भव छ तर सबैको हकमा सफल हुन्छ भन्ने हुँदैन। समस्या र चुनौती हुने भएकाले नियमित परीक्षण र चिकित्सकसँगको सल्लाह आवश्यक पर्छ, ” प्रजापतिले भने।

 


Last Updated on: October 9th, 2021 at 7:09 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया