मंगलबार ०३ जेठ २०७९

हवाई सेवा प्रदायक कम्पनीका लागि दशैँ बिजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायु सेवा प्रदायकलाई दशैँकाे व्यापार भ्याइनभ्याइ भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ ।

अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने र निजीले व्यापार गर्ने मात्रै भएको देखिन्छ ।

यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गर्नुभएको थियो । यही असोज २२ गते सिंहदरबारमा मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै हुनुहुन्थ्यो, ‘वायु सेवा निगमका जहाज घाममा सुकिरहेका छन् ।

जहाज घाममा सुकाएर त पैसा आउँदैन । नागरिकले निजी एअरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एअरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ ।’पर्यटन मन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड रुपैयाँ खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताउनुभएको थियो ।

पर्यटन मन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्त्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दशैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एअरलाइन्सको व्यापार बढेको छ ।दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ ।

अहिले सर्वसाधारणले सामान्य हिसाबले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायु सेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।विडम्बना नै मान्नुपर्छ वायु सेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् ।

ती पनि बेला–बेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् । निगमले काठमाण्डाै बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामीडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ ।

उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दशैँको समयमा टिकट पाउन मुस्किल छ । जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ । निगमका जहाज चढ्न सर्वसाधारणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधारणले गुनासो पोखे ।


Last Updated on: October 15th, 2021 at 5:42 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया