शुक्रबार १७ मंसिर २०७८

असोज २६ गते। १२ बजिसकेको थियो, जुम्लाको भुलभुलेमा मञ्जु मल्ल (चन्द्रा) ले बिहानको खाना खाँदा। ‘आमा, मैले खाना खाएँ, अब एकछिनमा हामी हिँड्छौँ,’ उनी बाटोमा हरेक क्षणको जानकारी आमालाई दिइरहन्थिन्।

परिवारसँग छुट्टिएको समय लामो थिएन। उनीमात्र दुई हप्ता अगाडि बुटवल गएकी थिइन्। आफ्नो ‘ओजेटी’ पूरा गरेको पेपर बुझाउन। बुटवलमा ओभरसियर पढेकी उनले ओजेटीका लागि आफ्नै गाउँ छायाँनाथ–रारा नगरपालिका रोजेकी थिइन्। १८ महिनाको ओभरसियर सकिएको खुसी मनमा थियो।

परिवारकी जेठी छोरीको पढाइ पूरा हुँदा सबै खुसी थिए। अनि आँगनमै टेकेको दसैँको रौनक पनि। परिवारलाई थाहा थियो, छोरी घर फर्किँदै छिन् भन्ने। आमासँग फोनमा कुरा भइरहेको थियो। आमा छोरीको बाटो कुरेर बसेकी थिइन्। बाटोको छेउमा आमाको होटल छ।

छोरी आउँछे र सँगै घर फर्कौँला भनेर उनी बाटो कुरिरहेकी थिइन्। छाेरी नजिकै आइपुगेकी थिइन्। करिब दुई बज्नै लागेकाे थियाे। मञ्जु आमासँग फोनमा बोलिरहेकी थिइन्। ‘आमा… !’ हाँस्दै कुरा गरिरहेकी छोरी चिच्याएको आवाज आमाले फोनमा सुनिन् ।

होटलपारिको भीरबाट ठूलो आवाज आयो। आमाले के भयो केही मेलोमेसो पाइनन्। उता छोरी चढेको गाडी दु,र्घ,ट,ना भइसकेको थियो। जुम्लाको भुलभुलेबाट हिँडेको करिब दुई घण्टामा गाडी दु,र्घ,ट,नामा पर्‍यो। आमाछोरीको अन्तिम कुराकानी नै त्यही भयो।

मञ्जु आमासँगै घर फर्किन पाइनन्। प्राण जाने बेलासम्म आमासँग कुरा गरिरहिन्। होटलबाट दुर्घटना भएको ठाउँ नजिकै छ। देखिन्छ पनि। हिँडेर जाँदा करिब १५ मिनेटमा पुगिन्छ। परिवारका अनुसार गाडी दु,र्घ,ट,ना हुँदाका बखत पनि आमा-छोरीको कुरा भइरहेको थियो।

सबैको कानमा पुगिसकेको थियो दुर्घटनाको खबर। सबै गाउँले जम्मा भए। मञ्जुकी आमा आधा बाटोसम्म पुगिन्, त्यसपछि उनका गोडा चलेनन्। फाेनमा छोरीको अन्तिम आवाज ‘आमा’ सुनेकी उनी त्यहीँ बेहोस् भइन्। आजै होला अन्तिम भेट हुन्न होला भोलि, जानेबेला एकपटक त हेर आँखा खोली।

दुई दिनअघि मात्र यो गीतमा टिकटक बनाएर हालेकी थिइन् उनले। परिवारसँगको उनको अन्तिम भेट करिब १४ दिनअघि भएको थियो। उनको अन्तिम बिदाइ उनका आफन्तले आँखा जुधाएर गर्न सकेनन्। मञ्जुका आँखा बन्द थिए। उनको परिवारले अब कहिल्यै भेट्न पाउने छैन।

बुवा नन्दराज मल्ल छायाँनाथ नगरपालिका वडा नं १ को भारेकोट निमाविमा पढाउँथे। व्यवसाय गर्ने मनसायले राजीनामा दिइसके। आमा तारादेवी मल्ल मामाघर नजिकै होटल चलाउँछिन्। उनका एक भाइ र एक बहिनी छन्। सहारा हुनेबेला आमाले छोरी गुमाएकी छन्। मञ्जुकी दिदी दयालक्ष्मी मल्लका अनुसार आमाकाे अझै हाेस आएकाे छैन।

मञ्जुकाे घर छायाँनाथ–रारा नगरपालिकाको वडा नं १ मा छ। आमाको होटल वडा नम्बर ७ मा बस दुर्घटना भएको ठाउँ नजिकै छ। ‘मञ्जु गाउँमै बस्छु भन्थी,’ दिदी दयालक्ष्मीले भनिन्, ‘लोक सेवा आयोगमा नाम निकाल्ने योजना थियो।’ मञ्जुले संसार छोडेको पाँच दिन भैसक्यो।

असोज २४ गते मञ्जुले टिकटक बनाएर राखेको भिडियोले आफन्तलाई अझै झस्काइरहन्छ। असोज २६ गते नेपालगञ्जबाट मुगु हिँडेको भे १ ख ३१६७ नम्बरको बस मुगु–जुम्ला सडकखण्डमा पर्ने मुगुको छायाँनाथ–रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो। ज्यान गुमाउने अधिकांश मुगुको छायाँनाथ–रारा नगरपालिकाका छन्। जसमध्ये मञ्जु पनि एक थिइन्।

 

 


Last Updated on: October 19th, 2021 at 12:45 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया