सोमबार ११ आश्विन २०७८

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले बिहीवारबाट काठमाण्डू उपत्यकामा राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा आएको निरन्तर वृद्धि सँगै काठमाण्डू, भक्तपुर र ललितपुरमा राति आठ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकको निर्णयबारे जानकारी दिँदै उनले साँझको समयमा हुने भिडभाड नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बताए।

बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।

नेपालमा कोभिड पुष्टि दर भारतको भन्दा चारगुना बढी, घटाउन के गर्नुपर्छ
नेपालमा आत्महत्या रोक्न यस्तो सहयोग उपलब्ध छ
कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाका अनुसार ‘स्मार्ट लकडाउन’को मापदण्डका आधारमा उपत्यकासहित अन्य जिल्लाहरूमा समेत सङ्क्रमणको अवस्था हेरि निषेधाज्ञाहरू लागु हुनेछन्।

सीसीएमसीले पाँच निर्धारक तय गरेर त्यसकै आधारमा बन्द र खुला रहने क्रियाकलापको सूची तयार गरेको उनले जानकारी दिए।

“पाँच वटा अवस्थालाई २०-२० दिएर १०० पूर्णाङ्क प्रस्ताव गरिएको छ। ६५ अङ्क माथि आएको अवस्थामा रेड जोन घोषणा गर्ने भनिएको छ,” खतिवडाले भने।

“कुन ठाउँ कुन वर्गमा पर्छ त्यही अनुसार कस्ता क्रियाकलापहरू खुल्ने र बन्द हुने भन्ने उल्लेख गरिएको छ।”

गत साउन १५ गतेको सीसीएमसी निर्देशक समितिको बैठकबाट सैद्धान्तिक स्वीकृति पाएको मापदण्ड कार्यान्वयनमा आउन बाँकी छ।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सङ्क्रमणको तथ्याङ्क हेरेर निषेधाज्ञाको अवस्था हेरफेर हुने बताए।


Last Updated on: August 10th, 2021 at 3:43 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया