बिहिबार ३१ भाद्र २०७८

साउनको झरी,हातमा सियो, धागो । वर्षा छेक्न छातामुनि बसेका ४६ वर्षीय खड्के सार्कीको दैनिकी धनगढी ट्राफिक चौराहाको सडक छेउमा बित्छ । जीवनको ऊर्जाशील उमेरमा गाडी ग्यारेजमा काम गरेका खड्के ५ वर्षदेखि जुत्ता सिउने काम गरिरहेका छन् । उनले जुत्ता सिलाएरै परिवार खर्च जुटाउँदै आएका छन् ।

‘शक्ति हुँदासम्म गाडीको काम गरेँ । बिस्तारै शरीर कमजोर हुँदै गयो’, उनले भने, ‘त्यसपछि जुत्ता सिउने काम सुरु गरेको हो । त्यो कामभन्दा यो काममा बढी रमाउने गरेको छु ।’ जुत्ता सिलाएर पनि परिवार राम्रोसँग पाल्न सकिने उनको अनुभव छ ।‘फगत व्यवस्थापन गर्न जान्नु पर्छ’, उनी भन्छन् । डोटीबाट बसाइसराइ गरी धनगढी उपमहानगरपालिका–३ राजपुरमा बस्दै आएका खड्केले घर घडेरी समेत जोडेका छन् । ‘अरू कुनै पनि आयस्रोत छैन’, उनले भने, ‘४ जनाको परिवार सजिलैसँग पालेको छु ।’

 

धनगढी उपमहानगरपालिका–३ विशाल नगरका ५७ वर्षीय भीमबहादुर सार्की । (हातमा मास्क भएका व्यक्ति) ।
धनगढी उपमहानगरपालिका–३ विशाल नगरका ५७ वर्षीय भीमबहादुर सार्कीले पनि जुत्ता सिलाएर नै ६ जनाको परिवारको रोजीरोटी चलाइरहेका छन् । ‘१० वर्षसम्म सडक पेटीमा अरूका जुत्ता पालिस गर्दा पनि आफ्नो अवस्था फेरिएन’, उनले भने, ‘दिनमा ५ सयदेखि १ हजारसम्म कमाइ हुन्छ, त्यो त साँझ बिहान खाना खान पुगेको छ ।’

यो पढ्न छुटाउनु भयो कि
. इन्डियन आर्मीको जागिर छोडेर ड्रागन फ्रुट्स खेतीमा जम्दै तीन युवा !
. अष्ट्रेलिया छोडेर आफ्नै गाउँमा बाख्रा पालन गर्ने युवकको मासिक आम्दानी १ लाख
. गँड्यौलासँग जोडिएको प्रकाशको दैनिकी
सडक पेटीको व्यापार भएकाले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफूले बस्ने ठाउँ नै नपाउँदा भने समस्या हुने गरेको उनको गुनासो छ । ‘सडक पेटीमा नै जीवनको यति लामो समय बिताएँ, यही पेसाबाट नै मेरो घरपरिवार चलेको छ’, उनले भने, ‘अब सडक पेटीबाट नहटाए हुन्थ्यो । सडकबाट रोजीरोटी चल्छ, सडक पेटीकै बढी माया लाग्छ ।’

डडेलधुराको अजयमेरुकोटका ६० वर्षीय गंगाराम सार्कीले पनि धनगढीका सडक पेटीमा जुत्ता पालिस गर्दै गुजारा चलाइरहेका छन् । ‘बुढेसकालमा छोराहरूले पनि एक्लाउँदा पेट पाल्न तराई झरेका उनको अन्तिम विकल्प सडकमै अरूका जुत्ता चप्पल सिउने र पालिस गर्ने बन्यो’, उनले भने ।

पेट पाल्नकै लागि बुढेसकालमा जुत्ता चप्पल सिउन बाध्य उनी व्यापार नहुँदा कोठा भाडा तिर्न र परिवारको मुखमा माड लगाउन समेत मुस्किल परिरहेको गुनासो गर्छन् । धनगढी विशाल नगरका ५१ वर्षीय धनबहादुर सुर्खेती दिनभर धनगढी बसपार्कमा जुत्ता पालिसको काम गर्छन् । कामलाई सम्मान गर्ने परिपाटी नहुँदा आफू पनि धेरै पटक हेपाइमा परेको उनको गुनासो छ । ‘घरका तीनै जना सडक पेटीमै काम गर्छौँ’, उनले भने, ‘सडक पेटीको कमाइले घर खर्च चलाउन परेको छ ।’

४६ वर्षीय खड्के सार्की (पहेँलो टीसर्ट लगाएका व्यक्ति ) ।
‘दैनिक ७ सयदेखि १ हजारसम्म आम्दानी हुन्छ,’ उनले थपे, ‘कहिले काहीँ १ हजार २ सयसम्म पनि पुग्छ । सडकमै जुत्ता पालिस गर्ने र सिलाउने हुँदा धेरैले हेयको दृष्टिले हेर्छन् । कसै कसैले राम्ररी नै बोलाउँछन्, सम्मान गर्छन्, तर कोही भने साह्रै हेपेर बोल्छन् ।’

वर्षौँदेखि धनगढीका सडक पेटीमा जुत्ता पालिस र फाटेका जुत्ता चप्पल सिलाएर बसेका अमर सार्की भने जीवनमा कुनै परिवर्तन नआएको गुनासो गर्छन् । ‘हाम्रा लागि कुनै निश्चित स्थान छैन । सडक पेटी र नालाहरू नै हाम्रा व्यापारिक थलो हुन् । दिनभरि अर्काको जुत्ता पालिस गरेर पनि साँझ बिहानको छाक टार्नै मुस्किल पर्छ’, उनले भने ।

‘कठ्याङ्ग्रिँदो, जाडो र सडकको धुवाँ धुलो त खेपेकै छौँ, तर चिल्ला कारमा जुत्ता पालिस गर्न आउने कतिपय सुकिला मान्छेको तुच्छ व्यवहारले मन झनै खिन्न हुन्छ’, धनबहादुरले थपे ।सानो लगानी र असुरक्षित स्थानको व्यवसायले दैनिक खर्च धान्नै मुस्किल पर्ने उनीहरूको गुनासो छ । सडक पेटीमा व्यापार गर्न सरकारी क्षेत्रबाटै रोकावट भइरहेको बताउँदै उनीहरूले देशमा तीन तहको सरकार आए पनि आफूहरूमा समस्या जस्ताको त्यस्तै रहेको दुखेसो पोखे ।

भीमबहादुर सार्की ।
‘आम्दानीले दैनिक खर्च धान्नै मुस्किल छ,’धनगढीको सडकमै भेटिएका भीमबहादुर सार्कीले भने, ‘सडक पेटीमा व्यापार गर्न उल्टै सरकारी क्षेत्रबाट रोकावट हुन्छ । सीप र क्षमता अनुसारको काम सरकारले दिए त सडकमा बस्न मन कसको हुन्छ र ?’ सरकारी तवर बाटै सीपलाई सम्मान गरी त्यही अनुसारको रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था भइदिए आभारी हुने उनको भनाइ छ ।

सडकमा जुत्ता सिलाएर भए पनि दैनिक सञ्चालन नहुने होइन तर, व्यवस्थापन हुन नसकेको उनीहरूको गुनासो छ । एक ठाउँमा स्थायी रूपमा बस्ने गरी सरकारले व्यवस्थापन गर्न सकेमा धेरैको रोजीरोटी चल्ने भीमबहादुरको भनाइ छ । ‘स्थानीय सरकार गठन भए तर, सडक व्यापारलाई सुरक्षित पार्न अझै कसैको ध्यान गएको छैन’, उनले भने । ‘कम्तीमा पनि सरकारले सडकको व्यापार सुरक्षित तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सक्ने गरी काम सुरु गर्नुपर्छ ।’

 


Last Updated on: August 11th, 2021 at 4:55 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया