बिहिबार ३१ भाद्र २०७८

दाङमा राप्ती नदीले बगाएकी महिलाको बगेको ठाउँभन्दा आठ किलोमिटर तलबाट उद्धार गरिएको छ।

गढवा गाउँपालिका ३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बगेको ठाउँभन्दा आठ किमी तल लमही ४ बाट उद्धार गरेको हो।

 

बिहीवार दिउँसो गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा उनलाई बाढीले बगाएको थियो। बगेको झण्डै चार घण्टापछि उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ‘घर नजिकै नदीमा दाउरा टिप्न जाँदा बाढीले बगायो,’ चौधरीले भनिन्, ‘नदीको बेग तीव्र भएका कारण निस्कन सकिनँ, बाढीले जता बगाउँद्ध उतै बग्दै गएँ। पछि बाढीले किनारा लगायो अनि निस्किएँ।’

राप्तीको टापुमा निस्किएपछि उनले गुहार मागेकी थिइन्। लमही नगरपालिका ४ बुटकहावाका स्थानीयले नदीको टापुमा फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबरपछि वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्लको नेतृत्वमा गएको टोलीले उनको उद्धार गरेको हो। उनको हाल लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको छ।

 


Last Updated on: August 13th, 2021 at 12:35 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया